सिन्धु साहित्य सङ्गमको पाँचौँ शृङ्खला भर्चुअल माध्यमबाट सम्पन्न, असारको महिमादेखि द्वन्द्वकालका पीडासम्मका सिर्जना गुञ्जिए

सिन्धुपाल्चोक, १५ असार। सिन्धु साहित्य सङ्गमले आयोजना गर्ने मासिक सिर्जना वाचनको पाँचौँ शृङ्खला शुक्रबार साँझ भर्चुअल माध्यमबाट भव्यताका साथ सम्पन्न भएको छ।

साहित्यकार डा. भारद्वाज मित्रको संयोजकत्वमा भएको कार्यक्रममा छन्द अभियन्ता एवं प्राज्ञ प्रा.डा. देवी नेपाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कवि त्रिलोचन आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा सिन्धुपाल्चोकका वरिष्ठ साहित्यकारहरू रमेश पौडेल, शिवप्रसाद पौडेल, साधुराम नेपाल, उपेन्द्र तिमिल्सिना, दिल कार्की, राधिका सापकोटा, साहित्यकार पत्रकार दिनेश दुलाललगायतले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात रमेश पौडेलको मुक्तकबाट भएको थियो भने सहभागी कविहरूले असारको महिमा, किसानको सम्मान, द्वन्द्वकालीन स्मृति र सामाजिक यथार्थ जस्ता विषयमा केन्द्रित रही कविता, गीत र छन्दबद्ध रचनाहरू प्रस्तुत गरेका थिए।

शिवप्रसाद पौडेलले सवाई छन्दमा, लक्ष्मण तिमिल्सिनाले किसानलाई सम्मान गर्दै असारे गीत, दिल कार्कीले असारे गीत र त्यसको अंग्रेजी अनुवाद, तथा राधिका सापकोटाले शार्दूलविक्रीडित छन्दमा कविता वाचन गर्नुभएको थियो।

कार्यक्रमका विशेष अतिथि प्रा.डा. देवी नेपालले वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी गर्दै असारकै परिवेशमा लेखिएको सुन्दर कविता सुनाउनुभएको थियो। कार्यक्रमको अन्त्यमा संयोजक डा. भारद्वाज मित्रले धन्यवाद ज्ञापन गर्दै असारे लोक लयको गीत प्रस्तुत गरी कार्यक्रम समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *