एसीसी यु-१६ कप: अपराजित यात्रा कायम राख्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल, आज भुटानसँग अन्तिम भिडन्त

 

क्वालालम्पुर (मलेसिया), १७ असार । एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली युवा टोलीले आज आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा लगातार तीन खेलमा शानदार जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपाल आजको खेल जित्दै समूह ‘ए’ को विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

नेपाल र भुटानबीचको यो खेल मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा नेपाली समय अनुसार आज बिहान ७:४५ बजे सुरु हुनेछ।

अपराजित नेपालको शानदार प्रदर्शन

प्रतियोगितामा नेपालले हालसम्म अपराजित रहँदै प्रभावशाली प्रदर्शन गरेको छ। आफ्नो पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले सहजै पराजित गरेको नेपालले दोस्रो खेलमा जापानमाथि ९ विकेटको सानदार जित दर्ता गरेको थियो।

तेस्रो खेलमा भने नेपालले इन्डोनेसियाविरुद्ध कीर्तिमानी प्रदर्शन गर्‍यो। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको थियो। यो जितले नेपाली टोलीको मनोबल निकै उच्च बनाएको छ। लगातारका जितले नेपाल समूह ‘ए’ मा ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ र अन्तिम खेलमा भुटानलाई हराएर अपराजित यात्रा कायम राख्न चाहन्छ।

प्रतियोगिताको संरचना

एसीसीको आयोजनामा भइरहेको यो प्रतियोगितामा कुल १० एसोसिएट राष्ट्रहरू सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

  • समूह ‘ए’: नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान

  • समूह ‘बी’: मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका विजेताहरू उपाधिका लागि फाइनलमा भिड्नेछन् भने पराजित हुने दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल असार २१ गते आयोजना हुनेछ।

आजको खेल जितेर समूह विजेता बन्न सके नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ, जसले फाइनल यात्रा केही सहज बनाउन सक्छ। उच्च लयमा रहेको नेपाली युवा टोलीबाट आज पनि त्यस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *