गाजाको समुद्री किनारस्थित क्याफेमा इजरायली हवाई हमला, कम्तीमा २० जनाको मृत्यु

 

गाजा , १७ असार ।  इजरायली सेनाले पश्चिमी गाजाको एक लोकप्रिय समुद्री किनारको क्याफेमा सोमबार साँझ गरेको हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ। चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार दर्जनौं घाइते भएका छन्।

समुद्री किनारमा पाल टाँगेर बनाइएको ‘अल-बाका क्याफेटेरिया’ स्थानीय बासिन्दा, पत्रकार तथा अधिकारकर्मीहरूका लागि भेटघाट र विश्राम गर्ने केन्द्रको रूपमा परिचित थियो। आक्रमणका बेला क्याफेमा पत्रकार, अभियन्ता र स्थानीयको बाक्लो जमघट रहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार उद्धार टोलीले घटनास्थलबाट २० वटा शव बाहिर निकालेका छन् भने घाइतेहरूको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ।

एक स्थानीय क्यामेरा पर्सनले भने, “अन्य स्थानमा इन्टरनेटको अभाव भएकाले म इन्टरनेट प्रयोग गर्न त्यहाँ पुगेको थिएँ। म नजिक पुग्नासाथै विस्फोट भयो।” सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा क्याफेमा इजरायली मिसाइल आक्रमण भएको स्पष्ट देखिन्छ।

गाजालाई खाली गराउने रणनीतिसहित इजरायलले आक्रमण गरेको बताइएको छ। अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिका लगायतका निकायले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्धविरामका लागि दबाब दिइरहेका बेला यो आक्रमण भएको हो। पछिल्लो समय इजरायली आक्रमणमा तीव्रता आएको छ।

११ हप्ता लामो राहत अवरोधपछि पनि गाजामा आक्रमण जारी रहेको छ। यस घटनाले गाजामा जारी द्वन्द्वको चपेटामा सर्वसाधारण नागरिकहरू कसरी परिरहेका छन् भन्ने दर्दनाक चित्र फेरि उजागर गरेको छ। इजरायली सेनाले भने आक्रमणबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *