भारतको दक्षिणी राज्य तेलङ्गानामा भीषण विस्फोट: औषधि कारखाना जलेर ३६ को मृत्यु, दर्जनौँ घाइते
नयाँ दिल्ली, १७ असार । भारतको दक्षिणी राज्य तेलङ्गानामा सोमबार एक औषधि कारखानामा भएको भीषण विस्फोट र आगलागीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ। घटनामा करिब तीन दर्जन कामदार घाइते भएका छन्।
राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर टाढा रहेको सिगाची इन्डस्ट्रिजमा उक्त दुर्घटना भएको हो। अधिकारीहरूका अनुसार, मंगलबार बिहानसम्म उद्धारकर्मीहरूले घटनास्थलको भग्नावशेषबाट ३४ जना कामदारको जलेको शव निकालेका छन् भने अन्य दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
राज्यका दमकल सेवा निर्देशक जी.भी. नारायण रावका अनुसार, विस्फोटले कारखानाको सम्पूर्ण संरचना ध्वस्त भएको छ र अझै केही कामदार फसेको हुनसक्ने आशङ्कामा भग्नावशेष हटाउने काम जारी छ।
प्रारम्भिक अनुसन्धानअनुसार, कारखानाको ‘स्प्रे ड्रायर युनिट’मा विस्फोट भएको हो, जहाँ कच्चा पदार्थलाई औषधिका लागि मसिनो धुलोमा परिणत गरिन्थ्यो। राज्यका स्वास्थ्यमन्त्री दामोदर राजा नरसिंहले विस्फोटका बेला कारखानाभित्र १०८ जना कामदार रहेको जानकारी दिनुभयो। प्रत्यक्षदर्शीहरूले विस्फोटको आवाज कैयौँ किलोमिटर टाढासम्म सुनिएको बताएका छन्।
शवहरू नराम्ररी जलेकाले पहिचान गर्न कठिन भएको छ, जसका लागि डीएनए परीक्षण गर्न विशेष मेडिकल टोली खटाइएको छ। राज्य सरकारले घटनाको कारण पत्ता लगाउन एक उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ।
भारत विश्वकै प्रमुख औषधि उत्पादक देश हो, तर यहाँका रासायनिक कारखानाहरूमा यस्ता औद्योगिक दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। यस घटनाले फेरि एकपटक औद्योगिक क्षेत्रमा कडा सुरक्षा मापदण्ड र नियामक निरीक्षणको आवश्यकतालाई उजागर गरेको छ।
