शेयर बजारमा लगातार तेस्रो दिन पनि हरियाली, नेप्से २९ अंकले बढ्दा कारोबार ७ अर्ब नाघ्यो
काठमाडौँ, १७ असार । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारले आफ्नो सकारात्मक लय कायमै राखेको छ। बजार परिसूचक नेप्से आज २८.९१ अंकले बढेर २,१६० विन्दुमा पुगेको छ।
यो सँगै बजार लगातार तेस्रो दिन बढेको हो। यसअघि आइतबार २६ अंक र सोमबार ९ अंकको सुधार देखिएको थियो।
परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ। अघिल्लो दिन ६ अर्ब ३८ करोडमा सीमित कारोबार रकम आज बढेर ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जसले बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको सङ्केत गर्छ।
आज बजारमा अधिकांश कम्पनीहरूको मूल्य बढेको छ। कुल २१७ कम्पनीको शेयरमूल्य बढ्दा जम्मा ३१ कम्पनीको मात्रै घट्यो। लगानी समूहको सूचक सबैभन्दा धेरै २.३८ प्रतिशतले बढ्यो भने लघुवित्त, जलविद्युत्, विकास बैंक र बैंकिङ समूहमा पनि १ प्रतिशतभन्दा माथिको वृद्धि देखियो। उत्पादन तथा प्रशोधन र व्यापार समूहमा भने सामान्य गिरावट आयो।
आज सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा करिब १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो। यसैगरी, बरुण हाइड्रोपावर, राप्ती हाइड्रो र सपोर्ट माइक्रोफाइनान्सको मूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढ्यो।