सेयर बजारमा हरियाली: नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार पौने १० अर्ब नजिक

काठमाडौँ, १८ असार । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। बजारका सबै सूचकहरू हरियाली हुँदा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

लगानीकर्ताको मनोबल उच्च देखिँदा नेप्से परिसूचक लगातार चौथो दिन बढेको हो। मंगलबार नेप्से ३४.४२ अंक (१.६५%) ले बढेर २१२९.४२ अंकको विन्दुमा पुगेको छ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब साढे दुई अर्ब रुपैयाँले बढेको छ। सोमबार ७ अर्ब ३ करोडको कारोबार भएकोमा मंगलबार दिनभरमा ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। आज कुल १८२ कम्पनीको सेयर मूल्य बढ्दा ६५ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

आज कारोबारमा आएका सबै १३ वटै क्षेत्रगत सूचकहरूमा वृद्धि देखिएको छ। जीवन बीमा समूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढेकाे छ भने निर्जीवन बीमा, विकास बैंक, र वित्त समूहमा पनि २ प्रतिशतभन्दा माथिको वृद्धि देखियो। त्यस्तै बैंकिङ समूह १.३६ प्रतिशतले बढेकाे छ ।
कारोबार रकममा भने जलविद्युत समूह अग्रस्थानमा रह्यो, जसको एक्लै ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।

ग्रिन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर को सेयर मूल्य १० प्रतिशतले बढेकाे छ त्यस्तै, नेपाल इन्स्योरेन्स (९.८२%), गुराँस लघुवित्त (९.१५%), र सिन्धु विकास बैंक (८.९२%) का लगानीकर्ताले पनि सर्वाधिक कमाए। अर्कोतर्फ, विन नेपाल लघुवित्त का लगानीकर्ताले सबैभन्दा धेरै ३.३१ प्रतिशत गुमाए।