स्थानीयको अवरोध र वर्षाले रोकियो अरनिको राजमार्ग विस्तार, तोकिएको समयमा नसकिने निश्चित
काभ्रेपलाञ्चोक, १९ असार । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडकलाई ६ लेनमा विस्तार गर्ने महत्वपूर्ण आयोजना तोकिएको समयमा नसकिने निश्चित भएको छ । बनेपामा स्थानीयको अवरोध र मनसुनी वर्षाका कारण निर्माण कार्य ठप्प हुँदा आयोजना सम्पन्न हुन ढिलाइ हुने भएको हो ।
आयोजनाका अनुसार, बनेपाको पुलबजार क्षेत्रमा सडकको ‘सेन्टर लाइन’ सम्बन्धी विवादले विगत चार महिनादेखि करिब २०० मिटर खण्डमा काम पूर्ण रूपमा रोकिएको छ । सडकको डिजाइन अनुसार केन्द्रबाट बराबर जग्गा लिनुपर्नेमा स्थानीयले दुवैतर्फका घरबाट बराबर जग्गा काट्नुपर्ने माग राखेपछि विवाद सिर्जना भएको हो । पटक-पटकको छलफल निष्कर्षविहीन हुँदा निर्माण अघि बढ्न सकेको छैन ।
स्थानीयको अवरोधसँगै मनसुनी वर्षाले पनि काममा बाधा पुर्याएको छ । धुलिखेलमा एक किलोमिटर सडक कालोपत्रे भए पनि वर्षाका कारण बनेपातर्फको थप काम रोकिएको छ । बनेपा बजार क्षेत्रमा नाली निर्माण र बिजुलीका पोल सार्ने जस्ता काम पनि ठप्प छन् ।
वि.सं. २०७९ पुसबाट ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको यो आयोजनाको भौतिक प्रगति हालसम्म ५० प्रतिशतको हाराहारीमा मात्र छ । आयोजनाकी सूचना अधिकारी सजना अधिकारीका अनुसार, बाँकी ६ महिनाको अवधिमा काम सकिने अवस्था छैन र समय थप गर्नुपर्ने निश्चित छ ।
सुरुवाती चरणमा मापदण्डभित्रका घर-टहरा हटाउन, रुख काट्न र बिजुलीका पोल तथा अप्टिकल फाइबर सार्न ढिलाइ हुनु र हाल बनेपाको विवाद नसुल्झिँदा आयोजनाले गति लिन नसकेको हो ।
सूर्यविनायकदेखि साँगा र साँगादेखि धुलिखेल गरी दुई खण्डमा विभाजित यो आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ रहेको छ । तर, निर्माणमा देखिएको ढिलासुस्तीले यात्रुहरूले धुलो र हिलोको सास्ती भोग्नुपर्ने समय अझै लम्बिने देखिएको छ ।