युक्रेन शान्ति वार्तामा गतिरोध: पुटिनसँगको वार्ता ‘निराशाजनक’ रहेको ट्रम्पको भनाइ

वासिङ्टन, २० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविराम गराउने प्रयासस्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको लामो फोनवार्ता पूर्ण रूपमा निराशाजनक रहेको बताउनुभएको छ ।

अमेरिकाले किएभलाई दिँदै आएको केही हतियार आपूर्ति रोकेको अवस्थामा आएको ट्रम्पको यो भनाइले शान्ति प्रयासमा गम्भीर धक्का लागेको सङ्केत गरेको छ । पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “पुटिनसँग मेरो लामो कुराकानी भयो, तर म छलफलबाट खुसी छैन ।” वार्तामा कुनै प्रगति भयो त भन्ने प्रश्नमा उहाँको स्पष्ट जवाफ थियो, “अहँ, मैले युद्ध अन्त्यको दिशामा कुनै प्रगति महसुस गर्न सकिनँ ।” जनवरीमा सत्तामा फर्किएपछि पुटिनसँग भएका अघिल्ला वार्ताहरूमा आशावादी देखिनुभएका ट्रम्पको यो निराशाजनक अभिव्यक्तिले धेरैलाई आश्चर्यमा पारेको छ ।

उता, रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पनि वार्ताको पुष्टि गरेको छ । क्रेमलिनका अनुसार, करिब एक घण्टा चलेको वार्तामा राष्ट्रपति पुटिनले “रुसले आफ्नो लक्ष्य नछोड्ने” दृढता व्यक्त गर्नुभएको थियो । “हाम्रा राष्ट्रपतिले रुसले तय गरेको लक्ष्य हासिल गरेरै छाड्ने बताउनुभएको छ,” क्रेमलिनका सहयोगी युरी उशाकोभले भन्नुभयो । यद्यपि, उहाँले रुस राजनीतिक संवादका लागि तयार रहेको पनि दोहोर्‍याउनुभयो ।

यो कूटनीतिक गतिरोधका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डेनमार्कमा युरोपेली सङ्घका नेताहरूसँग भेटवार्ता गरिरहनुभएको छ । उहाँले अमेरिकी सैन्य सहायतामा देखिएको अनिश्चितताले युरोपको भूमिका अझ महत्त्वपूर्ण बनेको बताउनुभयो । जेलेन्स्कीले ट्रम्पको ‘बिनाशर्त युद्धविराम’को प्रस्तावलाई किएभले सधैँ समर्थन गरेको स्मरण गराउँदै आफूले पनि ट्रम्पसँग छिट्टै कुरा गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

सन् २०२२ फेब्रुअरीदेखि जारी यस युद्धमा लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् भने रुसले युक्रेनको पूर्वी तथा दक्षिणी भूभाग कब्जा गरेको छ । पछिल्लो रुसी आक्रमणमा कम्तीमा आठ युक्रेनी नागरिकको मृत्यु भएको छ । वार्ता असफल हुनु र अमेरिकी हतियार आपूर्ति रोकिनुले युद्धको भविष्य थप अनिश्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *