लाइसेन्स प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
काठमाडौँ, २० असार । यातायात व्यवस्था विभागले आफ्नो प्रणालीमा प्राविधिक समस्या आएको भन्दै आज (शुक्रबार) देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ ।
विभागले एक सूचना जारी गर्दै आफ्नो प्रणालीमा आएको समस्याका कारण नयाँ आवेदन, नवीकरण, वर्ग थप, परीक्षा, तथा लाइसेन्स प्रिन्ट लगायतका सबै कामहरू रोकिएको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली) बन्द गरिएको छ ।” विभागले समस्या समाधानको प्रयास भइरहेको र अर्को सूचना प्रकाशन नभएसम्मका लागि सेवाहरू स्थगित रहने जनाएको छ ।
यो प्राविधिक अवरोधले गर्दा लाइसेन्सका लागि आवेदन दिएर बसेका तथा नवीकरणको प्रक्रियामा रहेका हजारौँ सेवाग्राहीहरू देशभर नै प्रभावित भएका छन् ।