एन्फा र प्रशिक्षक डि वाइल्ड बिचको विवाद उत्कर्षमा
काठमाडौँ, २५ असार । गत शनिबार उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा निराश भएपछि नेपालको सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एसियन महिला कप खेल्ने सपना चकनाचुर भयो । एसिया कप छनोटको सङघारमै पुगेर निराश बनेपनि नेपाली महिला फुटबल टिमको वाहवाही नै भइरहेको थियो । यद्यपि नेपाली टिमका प्रशिक्षक प्याट्रिक डि वाइल्ड प्रतियोगिता सकेपछि अखिल नेपाल फुटबल संघ ()को व्यवस्थापन प्रति खनिए । प्रशिक्षक डि वाइल्ड टिमसँग नेपाल फर्किएनन् । एन्फा व्यवस्थापनको आलोचना गर्दै बेल्जियम फर्किए । प्रशिक्षक डि वाइल्ड एक महिनाअघि मात्र नेपाली महिला फुटबलको टिमको प्रशिक्षक बनेको थियो । सबै महिला टिमले पहिलो पटक प्रो लाइसेन्स विदेशी प्रशिक्षक पाएपछि खुशी थिए । यद्यपि अहिले एक प्रतियोगितापछि नै प्रशिक्षक डि वाइल्डको पद धरापमा छ ।
प्रशिक्षक वाइल्डले कप्तान विवाद, व्यवस्थापन र टिममाथि अनावश्यक दबाबलगायतका विषयमा आलोचना गरेका थिए । विशेषत कप्तान नियुक्तीलाई लिएर ठूलै चर्चा भयो । उज्बेकिस्तानमा खेल्ने नेपाली महिला फुटबल टिमक हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मलेकुले भने प्रशिक्षक वाइल्डले समयमै जानकारी नदिँदा यो अवस्था आएको स्पष्टीकरण दिएकी छन् । सावित्रा (भण्डारी साम्बा), रेनुका (नगरकोटी) जो कप्तान भएपनि हामीलाई आपत्ति होइन । तर यसमा प्रशिक्षकको सहयोग रहेन । खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै नेम लिस्ट बुझाउनुपर्छ । हामीले प्याट्रिकलाई कप्तानसहितको खेलाडी सूची मागेका थियौँ । तर प्रशिक्षकले खेल सुरु हुनु भन्दा केही समय अघि खेलाडीको फोटोको लिस्ट मात्र दिए । सो सूचीमा कप्तानको नाम थिएन । हामीले सिनियोरिटीको आधारमा रेनुकालाई कप्तान बनायौँ । तर मैदानमा जादाँ साम्बाको पाखुरामा कप्तानको आर्मब्यान्ड थियो ।
प्राविधिक निर्देशक हरि खड्काले प्रशिक्षक प्याट्रिकले भनेजस्तो एन्फामा राजनीति नभएको र यस विषयमा बुझ्न आफूले इमेल गरेको र त्यसको जवाफ नआएको बताए । उनका अनुसार प्रशिक्षकले विवादित अभिव्यक्ति दिनु उचित हुँदैन । प्रशिक्षक डि वाइल्डले प्रधानमन्त्री केपी शर्माले फाइनलअघि दिएको भिडियो शुभकामनाले पनि खेलाडीहरुमा दबाब परेको भनी असन्तुष्टि व्यक्त गरेका थिए । प्राविधिक निर्देशक खड्काले शुभकामनाका लागि गरेको कुराकानीमा आपत्ति गर्न नहुने र शुभकामनाले खेलाडी मोटिभेट हुन्छ, भने ।
नेपाली टिमका सहायक प्रशिक्षक राजेन्द्र तामाङले प्याट्रिकले जे मन लाग्यो त्यो गर्न नपाइने बताए । यद्यपि तामाङले प्याट्रिक स्तरीय प्रशिक्षक हो, भने । उनको शैली निकै फरक छ । उहाँबाट मैले पनि पनि धेरै सिक्ने मौका पाएको छु– प्रशिक्षक तामाङ भन्छन् । सहायक प्रशिक्षक तामाङले कप्तानको विषयमा भने प्रशिक्षक डि वाइल्डकै दोष देखाएका छन् । हुनत नेपालमै उहाँले कप्तान परिवर्तन हुन्छ भनेर मलाई भन्नुभएको थियो । उहाँले सावित्रा वा गीता रानामध्ये एकजना कप्तान हुने तर एन्जिलाको पनि समभावना रहेको बताएका थिए । मलाई स्पष्ट जानकारी दिनुभएन ।– सहायक प्रशिक्षक तामाङ भन्छन् ।
एन्फाले करीब एक महिनाअघि मात्र एक वर्षका लागि प्रो लाइसेन्स कोच डि वाइल्डलाई नियुक्त गरेको थियो । यद्यपि यस विवादपछि डि वाइल्ड महिला टिमको प्रशिक्षकमा निरन्तर हुनेमा पनि शंका भएको छ ।