काठमाडौँकाे बाैद्धमा आगलागी, कोठाभित्रै जलेर एक महिलाको मृत्यु
काठमाडौँ, २६ असार । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित चेमजुङ गल्लीको एक घरमा आज दिउँसो भएको आगलागीमा परी एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ स्थायी ठेगाना भएकी ६५ वर्षीया उर्मिला तामाङको उक्त आगलागीमा परी ज्यान गएको हो ।
प्रहरी प्रवक्ता (प्रहरी उपरीक्षक) अपिलराज बोहराका अनुसार, तामाङ बस्दै आएको कोठामा आगो लागेको थियो ।
आगलागीको सूचना पाएलगत्तै प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका थिए । आगो नियन्त्रणमा लिएपछि कोठाभित्रै तामाङलाई मृत अवस्थामा फेला पारिएको थियो ।
आगलागीले कोठाका झ्याल, ढोका, लत्ताकपडा लगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
आगो के कारणले लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।