अनाममा गुञ्जिए सन्तोष श्रेष्ठका एकल गजल, मन्त्रमुग्ध भए दर्शकदीर्घा

काठमाडौं, २९ असार । नेपाली गजलको विकास, विस्तार र परिष्कारमा दुई दशकदेखि क्रियाशील संस्था अनाममण्डलीले आफ्नो २१औं वार्षिकोत्सव एक भव्य सांगीतिक कार्यक्रमसहित मनाएको छ ।

शनिबार काठमाडौंको सर्वनाम थिएटरमा आयोजित ‘अनाम प्रत्यक्ष गजल गायन, २०८२’ मा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले एकल स्वर र संगीतमा सात गजलकारका रचना प्रस्तुत गरी श्रोतालाई मन्त्रमुग्ध बनाए ।

कार्यक्रममा श्रेष्ठले अनाममण्डलीका संस्थापक तथा सदस्यहरू घनश्याम पथिक, जय गौडेल, सुरेश सुवेदी, रश्मि असफल, ज्ञानु विद्रोही, प्रभाती किरण र रूपक अलङ्कारका एक-एक वटा गजल गाएका थिए । घनश्याम पथिकको ‘औंसी बनेर कालो, ढल्किन्छ रात मेरो’ देखि रूपक अलङ्कारको ‘नयनमा पोखरी तिम्रो, मलाई पौडिने मन छ’ सम्मका विविध भावका गजलले हल कहिले स्तब्ध बन्यो त कहिले ‘वाह ! वाह !!’ को गुञ्जनले गुञ्जायमान भयो ।

उनको गायकीलाई तबलामा रमेश डंगोल, बाँसुरीमा धनबहादुर गुरुङ र गिटारमा राजकुमार समालले वाद्यवादनमा साथ दिएर अझै निखारेका थिए ।

‘नेपाली गजल गायनको स्वर्ण दशक, वि.सं. २०८०–२०९०’ अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा अनाममण्डलीका संस्थापक सल्लाहकार प्रा. डा. देवी नेपाल र संस्थापक अध्यक्ष सुरेश सुवेदीलाई सम्मान गरिएको थियो । सो अवसरमा बोल्दै सल्लाहकार नेपालले अनाममण्डलीलाई मोतीमण्डलीपछिको नेपाली गजलको विश्वसनीय र ऐतिहासिक संस्थाको रूपमा चर्चा गरे । सम्मानित व्यक्तित्व सुवेदीले गजल लेखनको अलमललाई सैद्धान्तिक स्वरूप दिन संस्था स्थापना भएको स्मरण गर्दै आज गजलले पाएको परिष्कृत मार्गप्रति खुसी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले नेपाली गजलको परिष्कार र विस्तारमा अनाममण्डलीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले नेपाली गजल गायनले आफ्नै मौलिक शैली निर्माण गरिरहेको र यसको गायनमा कुनै निश्चित संरचना नभएकाले संगीतकारहरूलाई सिर्जनात्मक स्वतन्त्रता रहेको विचार व्यक्त गरे ।