बेलायतको साउथएन्ड विमानस्थलमा सानो विमान दुर्घटना, आगलागीपछि अनिश्चितकालका लागि विमानस्थल बन्द
लण्डन/साउथएन्ड, ३० असार । बेलायतको एसेक्स काउन्टीस्थित साउथएन्ड विमानस्थलमा आज दिउँसो एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ । विमान उडान भरेको केही क्षणमै खसेर आगो लागेको थियो, जसका कारण विमानस्थलका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने अझै आइसकेको छैन । स्थानीय प्रहरी र उद्धारकर्मीको टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान कार्य जारी राखेका छन् ।
दुर्घटनाका एक प्रत्यक्षदर्शी जोनसन, जो आफ्नी श्रीमती र छोराछोरीसँग विमानको गतिविधि हेर्न विमानस्थल पुगेका थिए, ले बीबीसीसँग कुरा गर्दै घटनाको भयावह दृश्य वर्णन गरे । उनले भने, “विमान उडेको केही सेकेन्डमै झन्डै उल्टो भई जमिनमा खस्यो । त्यहाँ ठूलो विस्फोट भयो र धुवाँको बाक्लो मुस्लो आकाशमा देखियो ।” उनको भनाइले दुर्घटनाको गम्भीरतालाई थप उजागर गरेको छ ।
विमान दुर्घटनालगत्तै साउथएन्ड विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । यसले गर्दा विमानस्थलबाट हुने तथा विमानस्थलमा आउने सबै उडान तथा अवतरण रद्द भएका छन् । विमानस्थल प्रशासनले यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरूसँग सम्पर्क गरी आफ्नो उडानको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।
दुर्घटनाग्रस्त विमानमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्नेबारे अझै खुल्न सकेको छैन । साथै, दुर्घटनाको कारण पनि तत्काल खुलेको छैन । प्रहरीले हवाई दुर्घटना जाँच शाखा (Air Accidents Investigation Branch – AAIB) सँग मिलेर घटनाको गहन अनुसन्धान गरिरहेको जनाएको छ ।
वरिष्ठ प्रहरी प्रमुख मोर्गन क्रोनिनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “प्रारम्भिक चरणमा हामीलाई आवश्यक सबै जानकारी संकलन गर्नु अत्यावश्यक छ र पीडितलाई निरन्तर सहयोग जारी राख्नुपर्ने छ ।”
प्रहरीले आम मानिसहरूलाई आपतकालीन सेवाका फोनलाइनहरूलाई वास्तविक आवश्यकता पर्नेहरूका लागि खाली राखिदिन आग्रह गरेको छ । साथै, सो घटनासम्बन्धी कुनै पनि सूचना वा जानकारी भए ‘मेजर इन्सिडेन्ट पोर्टल’ (Major Incident Portal) प्रयोग गरी उपलब्ध गराउन अनुरोध गरेको छ । घटनाको पूर्ण विवरण र कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।
