सङ्घीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची

काठमाडौँ, ३१ असार । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने र प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ प्रस्तुत गर्ने र लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिको २३औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ ।

यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
साथै, ऊर्जामन्त्री दिपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।