ट्रम्पको भन्सार शुल्क वृद्धिबारे राष्ट्रपति लुला डा सिल्भाको कडा प्रतिक्रिया, ब्ल्याकमेल भन्दै अस्वीकार
ब्राजिल, २ साउन । अमेरिकाले ब्राजिलका निर्यातमा ५० प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गर्ने चेतावनी दिएकोप्रति ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले कडा विरोध जनाएका छन्। राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यस्तो निर्णयलाई “अस्वीकार्य ब्ल्याकमेल” तथा “नाजायज दबाब” को रूपमा चित्रण गरेका हुन्।
राष्ट्रपति लुलाले टेलिभिजनमा प्रसारित सम्बोधनमा भने, “ट्रम्पलाई सम्झनु जरुरी छ, उनी संयुक्त राज्य अमेरिका चलाउन निर्वाचित भएका हुन्, विश्वका सम्राट बन्न होइन।” उनले अमेरिकी धम्कीले ब्राजिलको सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिलाई असर नगर्ने स्पष्ट पारे।
लुलाले भने, “ब्राजिल एक स्वतन्त्र र सार्वभौम मुलुक हो। कुनै विदेशी नेताबाट हामी आदेश लिँदैनौं। यस्तो ‘ब्ल्याकमेल’ स्वीकार्य छैन। यदि अमेरिकी प्रशासनले एकपक्षीय रूपमा भन्सार शुल्क बढायो भने हामी प्रतिकारका उपाय अवलम्बन गर्नेछौं।”
डोनाल्ड ट्रम्पले हालै ब्राजिलमा ५०% सम्म भन्सार शुल्क लगाउने घोषणा गरेका हुन्, जसको मुख्य कारण उनले पूर्व राष्ट्रपति जेयर बोल्सोनारोमाथि चलाइएको अदालत प्रक्रियालाई “राजनीतिक प्रतिशोध” तथा “विच हन्टिङ” भनेर ब्याख्या गर्नु हो। ट्रम्पले ब्राजिल सरकारलाई बोल्सोनारोविरुद्ध लगाइएको मुद्दा तत्काल समाप्त गर्न समेत आग्रह गरेका थिए।
बोल्सोनारोमाथि सन् २०२२ को निर्वाचन उल्ट्याउने षड्यन्त्रमा संलग्न भएको आरोपमा मुद्दा चलिरहेको छ। ट्रम्प, जो बोल्सोनारोका कट्टर समर्थक रहिआएका छन्, उनले ब्राजिलको यस्तो कदमलाई “अन्तर्राष्ट्रिय कलंक” भनेका छन्।
ब्राजिल सरकारले औपचारिक रूपमा अमेरिकालाई कडा विरोध जनाएको छ। विकास तथा उद्योग मन्त्री जेराल्डो अल्कमिन र परराष्ट्र मन्त्री माउरो भिएराले हस्ताक्षर गरेको पत्रमा भन्सार वृद्धि ब्राजिल-अमेरिका सम्बन्धमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ। ब्राजिलले कुनैपनि “एकल देशको आदेश” नमान्ने र व्यापार वार्तामा खुलेर छलफल गर्न तयार रहेको जनाएको छ।
राष्ट्रपति लुलाले स्पष्ट पारेका छन् कि एकपक्षीयरूपमा भन्सार दर बढाए अमेरिकालाई ब्राजिलले पनि समान दर्जाको व्यापारिक प्रतिक्रिया दिनेछ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो देशले एकल निर्णयका आधारमा संरक्षणवाद होइन, पारस्परिक सम्मानका आधारमा व्यापार र कूटनीति खोज्दछ।”
ट्रम्प प्रशासनले ब्राजिलमाथि अमेरिकी टेक कम्पनीहरूमाथि अघोषित हमला, बजारमा ‘अन्यायपूर्ण व्यापार’ तथा बोल्सोनारोमाथि ‘राजनीतिक आक्रमण’ भएको आरोप लगाउँदै आएको छ। भने, विश्लेषकहरूले यस्तो भन्सार वृद्धिले दुवै देशका प्रमुख उद्योग र निर्यात-आयात क्षेत्रमा नकारात्मक असर पार्ने जनाएका छन्।
हाल अमेरिकी प्रशासनले ब्राजिलमाथि भन्सार शुल्क विस्तार गर्न ‘अर्थपूर्ण व्यापारिक अन्वेषण’ (Section 301 Investigation) शुरु गरेको छ।
हालैको जनमत सर्वेक्षणअनुसार, ७२ प्रतिशत ब्राजिलियन नागरिकले अमेरिकाको भन्सार वृद्धिविरुद्ध तटस्थता जनाएका छन् भने ५३ प्रतिशत नागरिकले सरकारले उठाएको प्रतिकारात्मक कदमलाई समर्थन गरेका छन्।
ब्राजिल–अमेरिकी सम्बन्धमा आएको पछिल्लो तनावले दुवै मुलुकबीच व्यापारिक र कूटनीतिक जटिलता थपेको छ। राष्ट्रपति लुलाले ट्रम्पको चेतावनीलाई अस्वीकार गर्दै परस्पर वार्ता, प्रतिष्ठानको स्वतन्त्रता र व्यापारिक पारस्परिकताको बाटो रोज्ने दृढता देखाएका छन्। तर यदि कुनै सम्झौता नभए भन्सार युद्ध गहिरिँदै जाने संकेत देखिएको छ।
