एन्फा महिला लिग क्वालिफायर्सको तयारी
काठमाडौँ, २ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा महिला लिग क्वालिफायर्समा सहभागी टिमहरूबीच शुक्रबार छलफल सम्पन्न भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छलफलपछि यही साउन २७ गतेदेखि एन्फा कम्प्लेक्समै सुरू हुने क्वालिफायर्स प्रतियोगिताका लागि एन्फाले सहभागी प्रत्येक टिमलाई तयारी खर्चस्वरूप ५० हजार रुपियाँ उपलब्ध गराउने भएको छ।
त्यस्तै, प्रत्येक खेलमा सहभागी टिमहरूलाई म्याच मनी स्वरूप प्रति टिम १० हजार रुपियाँ प्रदान गरिनेछ। छलफलपछि टिमहरूले दर्ता गर्न सक्ने खेलाडी संख्या २३ बाट बढाएर ३० र्पुयाइएको छ।
छलफलमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु, एन्फा सिइओ इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक संजीव मिश्र लगायत सहभागी टिमका प्रतिनिधिहरूको उपस्थिति थियो।
यस प्रतियोगिताका लागि देशभरिबाट १६ टिमले टिम दर्ता गराएका छन् ।