गाजामा इजरायली आक्रमणमा १५ प्यालेस्टाइनीको मृत्यु
एजेन्सी, ६ साउन । गाजा क्षेत्रमा मंगलबार भएको इजरायली आक्रमणमा कम्तीमा १५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार, इजरायली सेनाले मध्य गाजाको देइर अल-बलाहमा आफ्नो स्थलगत कारबाही समेत विस्तार गरेको छ।
एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा सहरको पश्चिममा रहेको अल-शती शरणार्थी शिविरमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको जानकारी दिनुभयो। यसैगरी, देइर अल-बलाहमा थप दुई जनाको मृत्यु भएको छ।
इजरायली सेनाले देइर अल-बलाहका धेरै क्षेत्रहरू खाली गर्न आदेश दिँदै स्थलगत कारबाही विस्तार गरेको हो। संयुक्त राष्ट्रसंघका अनुसार, यस क्षेत्रलाई अहिलेसम्म तुलनात्मक रूपमा सुरक्षित मानिएको थियो र यहाँ करिब ५० हजारदेखि ८० हजार मानिस बसोबास गर्दै आएका थिए।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (OCHA) ले गाजा पट्टीको करिब ८८ प्रतिशत भू-भाग अहिले कि त निकासी आदेश अन्तर्गत वा इजरायली सैन्य क्षेत्रभित्र परेको जनाएको छ। २१ महिना लामो द्वन्द्वका कारण २४ लाख जनसंख्या सानो र असुरक्षित क्षेत्रमा बस्न बाध्य भएको छ।