त्रिभुवन विमानस्थलमा ६.५ अर्बको लगानीमा अत्याधुनिक इन्धन डिपो बन्ने
काठमाडौँ, ८ साउन । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब साढे छ अर्ब रुपैयाँको लागतमा नयाँ र अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ ।
हाल सिनामंगलमा रहेको डिपो असुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डविपरीत भएपछि निगमले विमानस्थलको गुह्वेश्वरी क्षेत्रमा नयाँ डिपो बनाउने प्रक्रिया अघि बढाएको हो ।
नयाँ डिपो निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारी निगमलाई हस्तान्तरण गरेको छ । प्रतिवेदनअनुसार, अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको मापदण्डमा आधारित यो डिपो निर्माण गर्न कुल ६ अर्ब ५४ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
निगमका अनुसार, आगामी ५० वर्षको माग धान्न सक्ने गरी बनाइने यो डिपो पूर्ण स्वचालित हुनेछ । जसमा ३ हजार किलोलिटर क्षमताका पाँचवटा भण्डारण ट्याङ्क र अत्याधुनिक अग्नि नियन्त्रण प्रणाली जडान गरिनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराएमा आगामी मंसिरबाट निर्माण सुरु गरी दुई वर्षभित्र सम्पन्न गर्ने निगमको लक्ष्य छ । वि.सं. २०८४ मंसिरदेखि नयाँ डिपो सञ्चालनमा ल्याउने योजना रहेको निगमले जनाएको छ ।