रूसमा बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, सबै ४९ जनाको मृत्यु भएको आशंका

मस्को, ८ साउन । रूसको पूर्वी क्षेत्रमा बुधबार बेपत्ता भएको एन्टोनोभ एन-२४ यात्रुवाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

रूसी समाचार संस्था तासका अनुसार, विमानमा सवार चालक दलका ६ सदस्य र ४३ यात्रु गरी सबै ४९ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

विमान खाबरोव्स्कबाट टिन्डाका लागि उडेको थियो र टिन्डा विमानस्थलमा अवतरण गर्नुभन्दा केही किलोमिटर अगाडि सम्पर्कविहीन बनेको थियो । सम्पर्कविहीन भएलगत्तै खोजीका लागि परिचालन गरिएको हेलिकप्टरले विमानस्थल नजिकैको भिरालो जङ्गलमा धुवाँको मुस्लो र विमानको भग्नावशेष देखेको थियो ।

उद्धारकर्ताहरूले दुर्घटनास्थलमा कोही पनि जीवित भेटिने सम्भावना नरहेको बताएका छन् । दुर्घटनापछि विमानमा आगो लागेकाले भग्नावशेष मात्र बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानमा ५ जना बालबालिकासमेत सवार थिए ।

स्थानीय अधिकारीहरूले दुर्घटनाको पुष्टि गरे पनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *