अमेरिका भ्रमण गर्ने नेपालीलाई २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’ लाग्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ बापत थप कम्तीमा २५० अमेरिकी डलर तिर्नुपर्ने भएको छ। हालै पारित गरिएको ट्रम्प प्रशासनको ‘वन बिग ब्युटीफूल बिल एक्ट’ अन्तर्गत यो नयाँ व्यवस्था गरिएको हो। यो शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त लाग्नेछ।
यो शुल्क नेपालीका लागि मात्र नभएर संसारका धेरै देशका नागरिकहरूका लागि तोकिएको हो। यद्यपि, एनबीसी न्यूजका अनुसार, यो शुल्क कहिलेदेखि लागू हुन्छ र फिर्ता गर्ने प्रक्रिया के हो भन्ने बारेमा भने अझै अस्पष्टता रहेको छ।
कहिलेदेखि लागु हुन्छ?
सन् २०२५ को अमेरिकी आर्थिक वर्ष (अक्टोबर १, २०२४ देखि सेप्टेम्बर ३०, २०२५) मा यो शुल्क लागु हुने उल्लेख छ। यो शुल्क होमल्याण्ड सेक्युरिटी नेतृत्वले अझ बढाउन सक्नेछन् भने आगामी वर्षहरूमा मुद्रास्फीतिका आधारमा समायोजन गरिने बताइएको छ।
कसलाई लागु हुन्छ?
यो शुल्क सबै गैरआवासीय भिसा (नन-इमिग्रान्ट भिसा) लिने पर्यटक, व्यवसायी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लागु हुनेछ। तर, भिसा वेभर प्रोग्राम अन्तर्गत अमेरिका प्रवेश गर्न पाउने देशका नागरिकलाई यो लागु नहुन सक्छ। यस्ता देशहरूमा अस्ट्रेलिया, जापान र केही युरोपेली देशहरू पर्दछन्।
एनबीसी न्यूजका अनुसार, यो शुल्क भिसा जारी हुने बेला तिर्नुपर्नेछ। यदि भिसा अस्वीकृत भयो भने यो शुल्क तिर्नुपर्दैन। यो यसअघि लाग्दै आएका भिसा शुल्कभन्दा थप शुल्क हो। उदाहरणका लागि, एच-वानबी भिसा आवेदनकर्ताले पहिले २०५ डलर तिर्ने गरेकोमा अब ४५५ डलरसम्म तिर्नुपर्ने हुन सक्छ। यस्तै, फर्म-१९४ को शुल्क पनि ६ डलरबाट २४ डलरमा वृद्धि भएको छ, जुन अधिकांश आगन्तुकले तिर्नुपर्छ।
शुल्क फिर्ता कसरी पाउने?
शुल्क फिर्ताको प्रावधान पनि राखिएको छ। भिसा अवधि ननाघ्ने, अनधिकृत रूपमा काम नगर्ने लगायतका सर्तहरू पूरा गरिएमा यात्रा सकिएपछि शुल्क फिर्ता लिन सकिनेछ। तर, फिर्ता कसरी, कहिले र कहाँबाट पाउने भन्ने कुरा अझै प्रस्ट छैन।
एनबीसी न्यूजले जनाएअनुसार, यो शुल्क अहिलेसम्म कार्यान्वयनमा आएको छैन र कहिलेबाट सुरु हुन्छ भन्नेमा अन्योल रहेको छ।
शुल्कको उद्देश्य र प्रभाव
होमल्याण्ड सेक्युरिटीका प्रवक्ताका अनुसार, यो शुल्क आप्रवासन प्रणालीमा इमानदारिता ल्याउने उद्देश्यले ल्याइएको हो। सन् २०१६ देखि २०२२ को बीचमा १–२ प्रतिशत मात्रै गैरआवासीय आगन्तुकहरू भिसाको म्याद नाघ्दासम्म बसेका थिए। तर, १ करोड १० मिलियन अनधिकृत आप्रवासीमध्ये करिब ४२ प्रतिशत कानुनी तरिकाले अमेरिका आएर म्याद नाघेर बसेको तथ्यांक छ।
नयाँ शुल्कको व्यवस्थाले विशेष गरी अमेरिका भ्रमण गर्न चाहने पर्यटक र विद्यार्थीहरू बढी प्रभावित हुनेछन्।
