थाइल्यान्ड-कम्बोडिया सीमामा भीषण भिडन्त, पूर्ण युद्धको खतरा
एजेन्सी, ९ साउन । थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखिको सीमा विवादले भीषण सैन्य भिडन्तको रूप लिएको छ, जसका कारण दुवैतर्फ ठूलो मानवीय क्षति भएको छ। थाई कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले यो भिडन्त ‘पूर्ण युद्धमा’ परिणत हुनसक्ने चेतावनी दिएका छन्।
लगातार दोस्रो दिनसम्म चलेको लडाइँमा जेट, तोपखाना, ट्याङ्क र स्थल सेनाको प्रयोग भएको छ। यो सङ्कटबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको छ।
ठूलो मानवीय क्षति, लाखौँ विस्थापित
भिडन्तका कारण थाइल्यान्डतर्फ एक लाख ३८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। त्यहाँ १४ सर्वसाधारण र एक सैनिकसहित १५ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। उता, कम्बोडियामा पनि एक नागरिकको मृत्यु र पाँच घाइते भएको रिपोर्ट छ। सीमावर्ती सहरहरूबाट सर्वसाधारण सामान र बालबच्चा बोकेर सुरक्षित स्थानतर्फ भागिरहेका छन्।
कूटनीतिक सम्बन्ध तोडियो, अन्तर्राष्ट्रिय समुदायको चासो
तनाव बढेसँगै दुवै देशले एकअर्काका राजदूतलाई निष्कासन गरी कूटनीतिक सम्बन्धलाई ‘न्यूनतम स्तर’मा झारेका छन्। थाई प्रधानमन्त्री वेचाचाइले भने, “हामीले छिमेकीका नाताले सम्झौताको प्रयास गर्यौँ, तर अब सेनालाई तुरुन्तै कारबाही गर्न निर्देशन दिएका छौँ।”
दुवै पक्षले एकअर्कालाई पहिले आक्रमण गरेको आरोप लगाएका छन्। थाइल्यान्डले कम्बोडियामाथि अस्पताल र पेट्रोल स्टेसनजस्ता नागरिक पूर्वाधारमा समेत आक्रमण गरेको दाबी गरेको छ।
संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, चीन र क्षेत्रीय समूह आसियानले तत्काल युद्धविराम गरी वार्तामा फर्कन दुवै पक्षलाई आह्वान गरेका छन्।
के हो विवाद ?
यी दुई देशबीच करिब ८०० किलोमिटर लामो सीमाका विभिन्न खण्डमा दशकौँदेखि विवाद रहँदै आएको छ। सन् २००८ देखि २०११ सम्म चलेको भिडन्तमा पनि करिब २८ जनाको मृत्यु भएको थियो। सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय न्यायालयले विवाद समाधानको प्रयास गरे पनि हालैका दिनमा पुनः तनाव चर्किएको हो।
