प्राचीन शिव मन्दिरको विवादमा किन लड्दैछन् थाइल्याण्ड र कम्बोडिया?

 

काठमाडौं, १०असार ।  थाइल्याण्ड र कम्बोडियाबीच ऐतिहासिक सिमा विवादका कारण दक्षिणपूर्वी एसियामा पुनः तनाव चुलिएको छ। बिहीबारदेखि सुरु भएको द्वन्द्व शनिबार तेस्रो दिनसम्म जारी छ, जसमा हालसम्म दुबै पक्षका ३२ जनाको मृत्यु भइसकेको छ र एक लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन्।

विवादको जड कहाँ छ?

यो विवाद करिब एक सय वर्ष पुरानो ऐतिहासिक र कूटनीतिक पृष्ठभूमिमा आधारित छ। फ्रान्सेली उपनिवेशकालमा कम्बोडियाको सीमा निर्धारण गर्दा सन् १९०४ मा फ्रान्स र सायाम (हालको थाइल्याण्ड) बीच भएको सन्धिमा सिमा निर्धारण गरिएको थियो। त्यसबेला बनेको नक्सामा ११ औं शताब्दीको प्राचीन शिव मन्दिर ‘प्रेह विहार’ कम्बोडियाको भूमिभित्र रहेको देखिएको थियो। तर, थाइल्याण्डले उक्त नक्सा बाध्यकारी नभएको भन्दै कहिल्यै औपचारिक रुपमा स्वीकार गरेन।

अन्तर्राष्ट्रिय अदालतको फैसला

सन् १९५४ मा थाई सेनाले उक्त क्षेत्र कब्जा गरेपछि कम्बोडियाले अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा हालेको थियो। सन् १९६२ जुन १५ मा अन्तर्राष्ट्रिय अदालतले मन्दिर कम्बोडियामै पर्न आएको ठहर गर्दै थाइल्याण्डलाई मन्दिर परिसरबाट सेना फिर्ता गर्न आदेश दियो। थाइल्याण्डले सुरुमा अदालतको अधिकार क्षेत्रलाई लिएर आपत्ति जनाए पनि अन्ततः फैसला मान्न बाध्य भएको थियो।

२००८ को UNESCO विश्व सम्पदा सूची र नयाँ तनाव

दुवै देशबीचको विवाद सन् २००८ मा पुनः चर्कियो, जब कम्बोडियाले आफ्नो तर्फबाट युनेस्कोको विश्व सम्पदा सूचीमा प्राचीन प्रेह विहार मन्दिर समावेश गराउने प्रयास गर्यो। थाइल्याण्डले त्यसबेला कडा विरोध जनाउँदै सीमा क्षेत्रमा आफ्ना सैनिक तैनाथ गरेको थियो। त्यसयता सीमामा बारम्बार सांघर्ष, गोलीबारी र हिंसात्मक झडप भइरहेका छन्।

पछिल्लो तनाव र अवस्था

मे महिनामा भएको झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि स्थिति थप चर्किएको थियो। पछिल्ला केही हप्तामा दुबै मुलुकले सीमामा सैन्य तयारी बढाएका छन्, हालका झडपहरू बारुदी सुरुङ विष्फोट र सीमापार निगरानीको विषयमा विवादपछि शुरु भएको छ। थाइल्याण्डले कम्बोडियाबाट बारुदी सुरुङ निर्माणको आरोप लगाउँदै एक थाई सैनिक घाइते भएपछि आफ्ना राजदूत फिर्ता बोलाएको छ।

त्यसपछि बिहीबार तनाव युद्धस्तरसम्म पुगेको छ। दुबै पक्षले पहिलो गोली अर्काबाट चलेको आरोप लगाएका छन्। थाइल्याण्डले कम्बोडियाली सेनाले ड्रोन प्रयोग गरी सीमा निगरानी बाधा पुर्याएको उल्लेख गरेको छ भने, कम्बोडियाले थाइल्याण्डले नागरिक बस्तीमा आक्रमण गरेको र क्लस्टर बमहरूको प्रयोग गरेको आरोप लगाएको छ। थाइल्याण्डले भने यसबारे औपचारिक प्रतिक्रिया दिन मानेको छैन।

मानवीय संकट र क्षेत्रीय असर

यो सिमा विवादका कारण एक लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्। थाइल्याण्डले केही सम्भावित जोखिम भएका गाउँ खाली गराएको छ, जबकि कम्बोडियाले थाइल्याण्डबाट फलफूल, तरकारी, बिजुली तथा इन्टरनेट सेवा समेत बन्देज लगाएको छ। पछिल्ला दिनमा सीमा क्षेत्रका १२ स्थानसम्म द्वन्द्व फैलिएको छ र दुवै मुलुकमा सैनिक उपस्थिति बलियो बनाइएको छ।

प्रेह विहार मन्दिरलाई लिएर सय वर्षभन्दा पुरानो ऐतिहासिक विवाद, अन्तर्राष्ट्रिय अदालतको फैसला र पछिल्लो युनेस्को विश्व सम्पदा सूची प्रक्रियाले थाइल्याण्ड र कम्बोडियाबीच लामो समयदेखि कूटनीतिक, सैनिक र सामुदायिक तनाव बढाएको छ। पछिल्ला घटनाक्रमले यो संवेदनशील द्वन्द्व सिमा विवाददेखि मानविय संकटतर्फ जाँदैछ र तत्काल वार्ता तथा समाधानको आवश्यकता अझ तीव्रै देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *