नेप्से १८ अंकले घट्यो, कारोबार रकम भने ११ महिनाकै उच्च
काठमाडौँ, ११ साउन । साताको पहिलाे कारोबार दिन शेयर बजारमा लगानीकर्ताको उच्च सक्रियता देखिँदा कारोबार रकमले नयाँ कीर्तिमान बनाएको छ । तर, नाफा सुरक्षित गर्ने लगानीकर्ताको चापले गर्दा नेप्से परिसूचक भने दोहोरो अंकले घटेको छ ।
आज बजारमा पछिल्लो ११ महिनायताकै सबैभन्दा धेरै, अर्थात् २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भयो । यसले बजारमा ठूलो मात्रामा शेयर हात-बदल भएको र लगानीकर्ताहरू अत्यधिक सक्रिय रहेको सङ्केत गर्छ ।
दिनभरमा ३२३ कम्पनीका ५ करोड ८६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका थिए ।
यद्यपि, उच्च कारोबारका बाबजुद नेप्से परिसूचक १८.४४ अंकले घटेर २,९६४.२० को बिन्दुमा बन्द भयो । बजार विश्लेषकहरूले यसलाई लगानीकर्ताहरूले नाफा बुक गरेको र बजारमा सामान्य करेक्सन देखिएको रूपमा अर्थ्याएका छन् ।
आज विकास बैंक, उत्पादन, व्यापार र म्युचुअल फण्ड समूहमा हरियाली छायो भने बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र बिमा जस्ता प्रमुख समूहहरूमा गिरावट देखियो । कारोबार रकममा शिवम् सिमेन्टले अग्रता लिँदै एक अर्बभन्दा बढीको कारोबार गर्यो भने समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।