शेयर बजारमा उत्साह: नेप्से ३ हजार अंक पार गर्दै ४ वर्षयताकै उच्च विन्दुमा

काठमाडौँ, १३ साउन । मंगलबार नेपालको शेयर बजारले करिब चार वर्षयताकै ऐतिहासिक उचाइ कायम गरेको छ। नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा पुग्दै मनोवैज्ञानिक ३००० को स्तर पार गरेको हो।

यो २०७८ भदौ १३ गते (३०४४.८७ विन्दु) पछिको सबैभन्दा उच्च बन्द हो। परिसूचकले नयाँ कीर्तिमान बनाए पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ।

मंगलबार ३२१ कम्पनीको ४ करोड १८ लाख कित्ताभन्दा बढी शेयर १८ अर्ब ५२ करोड रुपैयाँमा खरिदबिक्री भयो। यो अघिल्लो दिनको १९ अर्ब ३६ करोडको तुलनामा केही कम हो।

बजारमा सकारात्मक माहोल छाउँदा ४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए।

यसैगरी, नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयर ८ प्रतिशतभन्दा बढीले बढ्दा माइ खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको मूल्य ७ प्रतिशतभन्दा बढीले उकालो लाग्यो। उता, समता घरेलु लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ८.६० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो, जसको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि ग्रीन भेन्चर्स (करिब ६४ करोड) र नेपाल पुनर्बीमा कम्पनी (करिब ५७ करोड) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। १३ उपसमूहमध्ये विकास बैंक, वित्त र व्यापार उपसमूहबाहेक अन्य सबैको परिसूचक बढेको छ।