शेयर बजारमा दाेहाराे अंकले गिरावट, नेप्से २९२२ अङ्कमा झर्‍यो

काठमाडौँ, १५ साउन । अघिल्लो दिन उच्च अङ्कले घटेको सेयर बजारमा बिहीबार पनि गिरावटको क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३१.५० अङ्कले घटेर २९२२ अङ्कमा सीमित भएको छ ।

दिनभर उतारचढावपूर्ण रहेको बजारमा परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर १५ अर्ब ९८ करोडमा सीमित रह्यो ।

आज बजारमा ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
आज वित्त समूहबाहेक अन्य सबै समूहका सूचक नकारात्मक रहे । वित्त समूहको सूचक १.१८ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा धेरै २.४४ प्रतिशतले घट्यो ।

यसैगरी, बैंकिङ १.४४, जलविद्युत् १.१५, जीवन बीमा १.२९ तथा उत्पादन तथा प्रशोधन समूह १.१४ प्रतिशतले ओरालो लागे ।

बिहीबारको कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले वृद्धि भयो । उता, भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै ७.१० प्रतिशत तथा माइखोला हाइड्रोपावरको ५.७० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहे ।

यसैबीच, बिहीबारदेखि जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुला भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीले आफ्नो चुक्ता पुँजी बढाउन शत प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।