यमनमा डुङ्गा दुर्घटना: ६८ आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता
एजेन्सी, १९ साउन । यमनको दक्षिणी तटीय क्षेत्रमा आप्रवासीहरू बोकेको एउटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सोमबार जनाएअनुसार, अधिकांश इथियोपियाली नागरिक सवार उक्त डुङ्गा डुब्दा दर्जनौं व्यक्ति अझै बेपत्ता छन्।
आइओएमका देशीय निर्देशक अब्दुसाट्टोर एसोभले जनाएअनुसार, डुङ्गामा कुल १५७ जना सवार थिए। तीमध्ये ६८ जनाको शव फेला परेको छ भने १२ जनाको जीवितै उद्धार गरिएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको उनले बताए।
यो दुर्घटना यमनको दक्षिणी प्रान्त अब्यानको तटमा भएको हो। यमनको सुरक्षा निकायले पनि दुर्घटनाको पुष्टि गर्दै डुङ्गामा अधिकांश इथियोपियाली नागरिक रहेको जनाएको छ। आइतबारदेखि नै सुरक्षाकर्मीहरू उद्धार र शव निकाल्ने कार्यमा खटिएका थिए।
यमनमा सन् २०१४ देखि जारी गृहयुद्धका बाबजुद पनि अफ्रिकी मुलुकहरूबाट हजारौं आप्रवासीहरू खाडी देशहरूमा रोजगारीको खोजीमा खतरनाक समुद्री मार्ग प्रयोग गर्न बाध्य छन्। उनीहरू जिबूटीबाट रेड सी पार गर्दै यमन पुग्ने यो ‘पूर्वी मार्ग’ अत्यन्तै जोखिमपूर्ण मानिन्छ।
आइओएमका अनुसार, यो मार्गमा यस्ता दुःखद घटनाहरू बारम्बार हुने गरेका छन्। गत वर्ष मात्रै ‘रेड सी’ मार्गमा कम्तीमा ५५८ जनाको मृत्यु भएको थियो, जसमध्ये ४६२ जनाको डुङ्गा दुर्घटनामा परी ज्यान गएको थियो। दशौं हजार आप्रवासीहरू यमनमा अलपत्र परेको र उनीहरू दुर्व्यवहार तथा शोषणको शिकार हुने गरेको राष्ट्रसङ्घले जनाएको छ।
