तीन दिनको गिरावटपछि नेप्से बढ्यो, कारोबार रकम भने खुम्चियो
काठमाडौँ, १९ साउन । लगातार तीन कारोबार दिनको गिरावटपछि साताको दोस्रो दिन सेयर बजारमा सुधार देखिएको छ।
सोमबार, नेप्से परिसूचक १६.६५ अंकले बढेर २८७५.५५ विन्दुमा पुगेको हो। तर, परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ।
आइतबार १३ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज १० अर्ब ९२ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भयो। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्समा पनि सामान्य वृद्धि देखिएको छ।
आज सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.७३ प्रतिशतले बढ्यो भने श्वेत गंगा हाइड्रोपावरको मूल्यमा पनि ५ प्रतिशतभन्दा बढीको वृद्धि देखियो। यता, लगातार १२ दिनसम्म सकारात्मक सर्किट लागेको ट्रेड टावरको सेयरमा भने आज नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सले अग्रता लिएको छ। सो कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरीको पनि उच्च कारोबार भयो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ वटामा हरियाली देखियो भने ६ वटामा गिरावट आयो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९० प्रतिशतले बढ्दा बैंकिङ उपसमूहमा पनि १.५ प्रतिशतभन्दा धेरैको सुधार देखियो।