शेयर बजारमा भारी गिरावट, नेप्से ४१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो
काठमाडौँ, २० साउन । सोमबारको सामान्य वृद्धिपछि शेयर बजारमा मंगलबार भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको हो।
नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन करिब ११ अर्बको कारोबार भएको बजारमा आज ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। दिनभरमा ३२५ कम्पनीको २ करोड २२ लाख कित्ताभन्दा बढी शेयर १ लाख ३० हजार पटक खरिदबिक्री भएको थियो।
बजार ओरालो लागे पनि दुई कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो। यता, थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ। कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज हिमालयन रि-इन्स्योरेन्सले शीर्ष स्थान ओगटेको छ। कम्पनीको ३९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यसैगरी, ट्रेड टावरको ३७ करोड र शिवम् सिमेन्ट्सको ३३ करोडभन्दा बढीको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त र म्युचुअल फण्डबाहेक अन्य ११ वटै उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूह सबैभन्दा बढी २.७६ प्रतिशतले घट्दा विकास बैंक, जलविद्युत, बीमा र बैंकिङ लगायतका उपसमूहहरू पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।