गाजामा बमबारी र भोकमरीले दैनिक २८ बालबालिकाको मृत्यु
एजेन्सी, २० साउन । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले गाजा पट्टीमा इजरायली आक्रमण र भोकमरीका कारण सिर्जित मानवीय संकट भयावह बन्दै गएको बताएको छ।
६६० दिनभन्दा लामो समयदेखि जारी युद्धका कारण त्यहाँ दैनिक औसत २८ बालबालिकाले ज्यान गुमाइरहेको युनिसेफले जनाएको छ।
युनिसेफले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा भनिएको छ, “बम, गोली, कुपोषण र रोग… यी सबै कारणले गाजामा हरेक दिन एक कक्षाकोठा भरिने जति बालबालिका मारिन्छन्।”
एजेन्सीले गाजाका बालबालिकाहरूलाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकता रहेको औंल्याउँदै युद्धविराम नै उनीहरूको सबैभन्दा ठूलो आवश्यकता भएकोमा जोड दिएको छ।
इजरायली सेनाले गत मार्च २ देखि गाजाका सीमा नाकाहरू बन्द गरी मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ। यही कारणले गाजा पट्टीमा अभूतपूर्व अनिकालको अवस्था सिर्जना भएको र बालबालिका भोकमरी र कुपोषणको प्रत्यक्ष सिकार बनिरहेको अन्तर्राष्ट्रिय निकायहरूको भनाइ छ।
