झापामा रुखमा बाँधिएका वृद्धको मृत्यु, आफ्नै छोरासहित चार पक्राउ

विराटनगर, २१ साउन । झापा गाउँपालिकामा मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा छिमेकी र आफ्नै छोराले रुखमा बाँधेर राख्दा एक वृद्धको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोरासहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, झापा गाउँपालिका-१ का जतन सोरेनले अत्यधिक मदिरा पिएर छिमेकी महादेव टुडुको घर अगाडि होहल्ला गरेका थिए। त्यसपछि महादेव, मृतकका छोरा अनतलाल सोरेन र अन्यले मिलेर उनलाई आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर छाडिदिएका थिए।

बुधबार बिहान करिब ४ बजे हेर्दा सोरेन मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतकका २७ वर्षीय छोरा अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।