शेयर बजारमा सामान्य सुधार, कारोबार रकम निरन्तर गिरावट

काठमाडौँ, २१ साउन । बुधबार शेयर बजारमा नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ।
अघिल्लो दिन करिब ४१ अंकले घटेको बजारमा आज नेप्से परिसूचक २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको छ।
बजारमा सुधार देखिए पनि कारोबार रकम भने खस्किएको छ। यो लगातार आठौँ कारोबार दिन हो जहाँ कारोबार रकम घटेको छ। मंगलबार ९ अर्ब ३३ करोडको कारोबार भएको बजारमा आज घटेर ७ अर्ब ६३ करोड रुपैयाँमा सीमित भयो।
आजको बजारमा विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। उपसमूहगत रूपमा, लघुवित्त समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत लगायत ८ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, हिमालयन रि-इन्स्योरेन्स र शिवम् सिमेन्ट्स क्रमशः शीर्ष स्थानमा रहे।