कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
कैलाली, २२ साउन । कैलाली कारागारमा रहेका कैदीबन्दीहरूबीच बिहीबार झडप भएको छ। झडपमा परेर पाँच जना कैदीबन्दी घाइते भएका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार, चर्चित भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न तीन जना कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा विवाद चर्किएपछि झडपको स्थिति सिर्जना भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले झडपमा परी धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल राना घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये राहुल रानाको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएकाे छ।
घाइतेहरूको हाल सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।