इरानको केर्मानमा रेल दुर्घटना हुँदा ३० जना घाइते

तेहरान, २३ साउन । इरानको दक्षिणी प्रान्त केर्मानमा शुक्रबार एक यात्रुवाहक रेल पटरीबाट बाहिरिँदा ३० जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, केर्मान-जारान्ड रेलमार्गमा उक्त दुर्घटना भएको हो।

इरानी रेड क्रिसेन्ट सोसाइटीका उद्धार प्रमुख बाबाक महम्मदीले मेहर समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार, दुर्घटनामा ३० जना घाइते भएका हुन्। इरानको राष्ट्रिय रेलवे निकायले एक विज्ञप्ति जारी गर्दै प्राविधिक तथा उद्धार टोलीको तत्काल उपस्थितिले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ।

इरानमा बेलाबेलामा रेल दुर्घटनाहरू हुने भए पनि ठूला मानवीय क्षति हुने घटना भने कमै हुने गरेका छन्। यसअघि सन् २०२२ को जुनमा भएको यस्तै दुर्घटनामा २१ जना र सन् २०१६ मा दुई रेल ठोक्किँदा ४४ जनाको मृत्यु भएको थियो।