मौलिक पहिचानलाई जीवन्त राख्दै बौद्धमा ऐतिहासिक रोपाइँ जात्राको शुभारम्भ

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरका रूपमा रहेको ऐतिहासिक रोपाइँ जात्रा आइतबारदेखि बौद्ध क्षेत्रमा भव्यताका साथ सुरु भएको छ।

मल्लकालीन समयदेखि चल्दै आएको यो जात्रा खेतीपातीको काम सकिएको खुसीयालीमा मनाइने गरिन्छ र यसले बौद्ध क्षेत्रको मौलिक पहिचानलाई जीवन्त राखेको छ।

गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिका अनुसार, जात्रालाई व्यवस्थित र आकर्षक बनाउन विभिन्न कार्यक्रमहरू तय गरिएका छन्। आइतबार ‘घिनतिङना’ नाच प्रस्तुत गरिएको थियो भने आज (सोमबार) हलगोरु, बाउसे, रोपार, लाखे, झाँक्री लगायतका झाँकीसहित मुख्य रोपाइँ जात्रा तथा र्‍याली आयोजना गरिनेछ। बौद्ध स्तुपाको परिक्रमाबाट सुरु हुने यो जात्रा बौद्ध फूलबारी, गेट, पिपलबोट र टुसाल चोक हुँदै पुनः बौद्ध परिसरमै आएर समापन हुनेछ।

यस पर्वलाई थप रोचक बनाउन विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइने आयोजक समितिका संयोजक जयमङ्गल लामाले बताउनुभयो। उहाँका अनुसार, उत्कृष्ट हलगोरु, युवा तथा बाल बाउसे-रोपार, लाखे नाच जस्ता प्रस्तुतिलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिनेछ।

जानकारहरूका अनुसार, गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रा १६औँ–१७औँ शताब्दीदेखि सुरु भएको हो। यसमा स्थानीयहरू विभिन्न भेषभुषामा सजिएर बाजागाजासहित सहभागी हुन्छन् र रोपाइँ गर्दाका हली, बाउसे, रोपार जस्ता पात्रहरूको अभिनय गर्दै झाँकीसहित नगर परिक्रमा गर्ने परम्परा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *