गाजामा पत्रकारमाथि हमला: अल-जजिराका पाँच पत्रकारको मृत्यु, इजरायलद्वारा एकलाई ‘आतङ्कवादी’को आरोप

एजेन्सी, २६ साउन । गाजा सिटीको अल-शिफा अस्पताल बाहिर पत्रकारहरूको शिविरमा इजरायली हवाई हमला हुँदा कतारी सञ्चारमाध्यम अल-जजिराका पाँच पत्रकारको मृत्यु भएको छ।

यो आक्रमणले गाजामा कार्यरत पत्रकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
बीबीसीले जनाएअनुसार, मृत्यु हुनेमा अल-जजिराका संवाददाता अनस अल-शरीफ, मोहम्मद कुरैकाह तथा क्यामेराम्यान इब्राहिम जाहेर र मोहम्मद नुफाल रहेका छन्।

आक्रमण हुनुभन्दा केही समयअघि मात्र २८ वर्षीय पत्रकार अल-शरीफले सामाजिक सञ्जाल ‘एक्स’मा गाजा सिटीमा भइरहेको भीषण बमबारीबारे जानकारी दिएका थिए। उनको मृत्युपछि, उनका साथीमार्फत पूर्व-लिखित सन्देश उनको अकाउन्टबाट प्रकाशित गरिएको थियो, जसले घटनालाई थप मार्मिक बनाएको छ।

इजरायली रक्षा बल (आईडीएफ) ले आक्रमणको जिम्मेवारी लिँदै मृतक पत्रकार अल-शरीफ हमासको “आतङ्कवादी समूहका प्रमुख” भएको आरोप लगाएको छ। आईडीएफको दाबीअनुसार, उनले पत्रकारिताको आडमा इजरायली नागरिक र सैनिकमाथि रकेट हमलाको योजना बनाइरहेका थिए। यद्यपि, आईडीएफले अन्य पत्रकारहरूको मृत्युबारे कुनै प्रतिक्रिया दिएको छैन।

यता, अल-जजिराले भने इजरायलले आफ्ना पत्रकारहरूलाई नियोजित रूपमा निशाना बनाउँदै “उक्साहटपूर्ण अभियान” चलाएको आरोप लगाउँदै आएको छ।

आक्रमणपछिका भिडियोहरूमा मानिसहरूले मृतकका शवहरू बोकेर दौडिरहेको देखिन्छ। भिडियोमा केहीले मोहम्मद कुरैकाहको नाम लिएर चिच्याइरहेका छन् भने प्रेस भेस्ट लगाएका एक व्यक्तिले अनस अल-शरीफको शवको पहिचान गरेका छन्।

पत्रकारहरूको अधिकारका लागि कार्यरत संस्था ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ (सीपीजे) का अनुसार, गत अक्टोबरदेखि गाजामा सुरु भएको युद्धमा हालसम्म १८६ पत्रकार मारिइसकेका छन्, जसले यस क्षेत्रलाई पत्रकारहरूका लागि विश्वकै सबैभन्दा खतरनाक स्थान बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *