महाकाव्य ‘श्वेतपत्र’को श्लोक अब कीर्तिमानी संगीतकार सन्तोषकाे स्वरमा, ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौं, २७ साउन । महाकाव्यकार खेमनाथ दाहालको महाकाव्य ‘श्वेतपत्र’मा संग्रहित एक श्लोकलाई राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ का रूपमा सार्वजनिक गरिएको छ।

आइतबार काठमाडौंमा आयोजित एक समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइराला र वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले संयुक्त रूपमा गीतको भिडियो विमोचन गर्नुभयो।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर तथा संगीत रहेको यो गीत महाकाव्यकार दाहालको चर्चित कृति ‘श्वेतपत्र’बाट साभार गरिएको हो। कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले साहित्यका गहन कृतिलाई संगीतसँग जोड्ने आफ्नो प्रयासअन्तर्गत यो गीत तयार पारेको बताउनुभयो। ‘श्वेतपत्र’ महाकाव्यका अन्य केही श्लोकलाई पनि गीतमा ढाल्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

महाकाव्यकार दाहालले ‘श्वेतपत्र’ कृतिले आफूलाई सम्मान र विवाद दुवै दिएको स्मरण गर्नुभयो। समारोहका प्रमुख अतिथि प्रा.डा. कोइरालाले ‘श्वेतपत्र’लाई विद्रोही चेतना बोकेको एक उत्कृष्ट महाकाव्यको संज्ञा दिनुभयो।

साहित्यकारहरू डा. अम्बिका अर्याल र प्रा. ज्ञाननिष्ठ ज्ञवालीले कृतिको चर्चा गर्दै यसले नेपाल, सिक्किम र भुटानको सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको बताउनुभयो।

राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो राजन खरेलले छायांकन तथा सम्पादन गर्नुभएको हो। गीत संगीतकार सन्तोष श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *