नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ७ अर्ब ४६ करोड नाघ्यो

काठमाडौँ, २९ साउन । बिहीबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन घटेको नेप्से परिसूचक आज १.६२ अंकले बढे पनि अधिकांश उपसमूहहरूमा गिरावट आएको छ । यद्यपि, कारोबार रकम भने बुधबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ ।

दिनभरको कारोबारपछि नेप्से परिसूचक २७८८.३६ विन्दुमा पुगेर बन्द भएको छ । तर, सेन्सेटिभ इण्डेक्स लगायतका अन्य सूचकहरू भने राताम्य रहे । आज २४९ कम्पनीको १ करोड ९२ लाख कित्ताभन्दा बढी शेयर ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँमा किनबेच भयो । यो अघिल्लो दिनको ६ अर्ब १६ करोडको तुलनामा १ अर्ब ३० करोडले बढी हो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये आज ५ वटामा मात्रै हरियाली छायो भने बाँकी ८ वटा घटेका छन् । आज विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक बढेको हो । बैंकिङ, जलविद्युत्, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड लगायतका उपसमूह भने ओरालो लागे ।

आज नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको ५.५६ प्रतिशत तथा कुमारी सबल योजना, राधी विद्युत् र अपर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढ्यो ।

अर्कोतर्फ, आज म्युचुअल फण्डका इकाईधनीले सबैभन्दा बढी गुमाए । एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, सेलेक्ट-३० र ब्यालेन्स फण्डको इकाईमूल्य ६ प्रतिशतभन्दा धेरैले घट्यो ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ४७ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रह्यो ।