प्रिमियर लिगका उपाधि दावेदार

लन्डन, ३० साउन । गत सत्रको प्रिमियर लिग शनिबार सुरु हुँदैछ । प्रिमियर लिगको नयाँ ंसंस्करणमा उपाधि दौड खुल्ला हुने अनुमान गरिएको छ । यस सत्रका लागि क्लबलहरुले खेलाडीमा ठूलो धनराशि खर्च गरेकोले पनि आगामी प्रिमियर लिग रोमाञ्चक हुने अड्कल गर्न सकिन्छ । अझ गत वर्ष प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको प्रभूत्व सकिएपछि अन्य क्लबको मनोबल बढेको छ ।
‘टिम बिल्डिङ’मा सिटी
पेप गुवार्डियोलाको टिम म्यान्चेस्टर सिटी सन् २०१८ देखि २०२४ सम्मको सात सत्रमध्ये छ पटक च्याम्पियन बनेको थियो । तर पछिल्लो संस्करणमा सिटी उपाधि विहिन बन्यो । एफए कपको फाइनलमा क्रिस्टल प्यालेससँग हारेपछि सिटी आठ वर्षमा पहिलो पटक ट्रफीविहिन बनेको थियो । गत सत्रमा बालन डी ओर विजेता रोड्री लामो समय घाइते हुँदा पनि सिटीलाई समस्या परेको थियो । सिटीका प्रशिक्षक गुवार्डियोले पनि ‘टिम बिल्डिङ’मा काम गरिसकेका छन् । लगातार चार पटक च्याम्पियन बनेको सिटीको प्रतिष्ठा पुन फर्काउन खेलाडीहरुमा ४५ करोड डलर खर्च गरेको थियो ।
सहज हुने छैन लिभरपुललाई उपाधि रक्षा
गत वर्ष सिटीको अधिपत्य तोड्दै लिभरपुलले २० औं पटक उपाधि जितेको थियो । अब लिभरपुललाई विश्वकै सबभन्दा स्तरीय लिग मानिने प्रिमियर लिगको उपाधि रक्षाको प्रयास गर्नेछ । लिभरपुलले सन् १९८४ देखि प्रिमियर लिग उपाधि रक्षा गर्न सकेको छैन । उपाधि रक्षा अभियान बलियो बनाउन लिभरपुलले फ्लोरियन रिजका लागि १५ करोड ६० लाख डलर खर्च गरेको छ । लिभरपुलले अर्का स्ट्राइकर ह्युगो इकिटिकेलाई पनि आवद्ध गरेको छ ।
म्यान्चेस्टर युनाइटेडको प्रतिष्ठा फर्केला ?
म्यानचेस्टर युनाइटेडले आफ्नो प्रिमियर लिग इतिहासकै सबभन्दा खराब प्रदर्शन गर्यो । प्रिमियर लिगको हेभिवेट क्लब म्यान्चेस्टर युनाइटेड गत सत्रमा १५ औँ स्थानमा रहेको थियो । युनाइटेडले लिगमा १८ खेल हार्यो भने ४२ अङ्क मात्र प्राप्त गर्यो । जुन उसको प्रिमियर लिग इतिहासकै सबभन्दा कमजोर प्रदर्शन हो । पछिल्ला दुई सत्र बिर्सनलायक प्रदर्शन गरेपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक रुवेन अमोरिमले यसपटक क्लबको प्रतिष्ठा फर्काउने आश्वासन समर्थकहरुलाई दिनुभएको छ । यस सत्रमा म्यान्चेस्टर युनाइटेडले म्याथियस कुन्हा, ब्रायन मियोमो र बेन्जामिन सेस्कोजस्ता खेलाडी टिममा भित्र्याएको छ ।
आर्सनलको यसपटक उपाधि जित्ने आस
यसैगरी पछिल्ला तीन सत्र हेर्ने हो भने आर्सनलको जस्तो स्थिर प्रदर्शन अन्य टिमको छैन । यद्यपि आर्सनलले उपाधि जित्न सकेन । पछिल्ला दुई सत्र उपाधिको नजिक पुगेर उपविजेतामा चित्त बुझाएको आर्सनलले भिक्टोर ग्योकोरेसको रुपमा विश्वकै उत्कृष्टमध्ये एक स्ट्राइकर टिममा भित्र्याएको छ । स्वीडेनका स्ट्राइकर ग्योकरेसले गत सत्रमा स्पोर्टिङ लिस्बनका लागि १०२ खेलमा ९७ गोल गरेर किलयिन एमबापे, इर्लिङ हालान्ड र मोहम्मद सलाहजस्ता खेलाडीलाई पनि पछाडि पार्नुभएको थियो । आर्सनलले उहाँको सो लय इङगल्यान्डमा पनि कायम रहोस् भन्ने कामना गर्दैछ । आर्सनल सन् २००४ पछि प्रिमियर लिग उपाधि जित्ने अभियानमा रहेको छ ।
चेल्सी पनि दावेदार
अमेरिकी मालिकहरुको स्वामित्वमा रहेको चेल्सीले विगतका केही वर्षदेखि नै खेलाडीहरुमा ठूलो रकम खर्च गर्दै आएको छ । हालै चेल्सी क्लब विश्वकप च्याम्पियन पनि बनेको थियो । चेल्सी यसपटक प्रिमियर लिग उपाधिको दावेदारको रुपमा रहेको छ ।
प्रिमियर लिगमा यसपटक उक्लने तीन टिम लिड्स, बर्नली र सन्डरल्यान्डका लागि पनि सहज हुने छैन । पछिल्ला दुई सत्रमा शीर्ष लिगमा उक्लने तीनै टिम सोही सत्र रेलिगेशनमा परेका थिए । एपी