प्रधानमन्त्री ओली भारत भ्रमणमा, नालन्दा विश्वविद्यालयमा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भारत भ्रमणका क्रममा बिहारस्थित ऐतिहासिक नालन्दा विश्वविद्यालयको अवलोकन तथा त्यहाँ आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भदौ ३१ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले बोधगयामा हुने द्विपक्षीय वार्तापछि नालन्दाको भ्रमण गर्ने कार्यक्रम तय भएको हो।
नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री ओलीको बोधगयामा बसाइका लागि हयात प्यालेसको सम्पूर्ण होटल दुई दिनका लागि भारत सरकारको विदेश मन्त्रालयले बुक गरेको छ।
प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–भारत सम्बन्धमा शैक्षिक तथा सांस्कृतिक आदानप्रदानलाई थप सशक्त बनाउने विश्वास लिइएको छ। ऐतिहासिक तथा शैक्षिक दृष्टिले महत्वपूर्ण मानिने र विश्वका प्राचीनतम विश्वविद्यालयहरूमध्ये एक रहेको नालन्दा विश्वविद्यालयको अवलोकन प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य अंश रहनेछ।
भ्रमणका क्रममा नेपाल–भारतबीचको सहकार्य, सांस्कृतिक सम्बन्ध तथा शैक्षिक पहललाई अगाडि बढाउने विषयमा समेत छलफल हुने बताइएको छ।
