प्रधानमन्त्री नेतान्याहुमाथि बढ्दो दबाब, गाजामा मानवीय सङ्कट झनै गहिरियो
एजेन्सी, २ भदाै । गाजामा रहेका बन्धकहरूको रिहाइ र युद्ध अन्त्यको माग गर्दै आइतबार इजरायलमा सबैभन्दा ठूलो राष्ट्रव्यापी प्रदर्शन भएको छ। सयौं हजार प्रदर्शनकारी सडकमा उत्रिँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारमाथि चौतर्फी दबाब बढेको छ।
प्रदर्शनकारीहरूले सडक, चोक र सैन्य मुख्यालय अगाडि प्रदर्शन गर्दै यातायात अवरुद्ध पारेका थिए, जस क्रममा प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ। प्रदर्शनमा गाजाका कुपोषित बालबालिकाका तस्बिरहरू देखाइएको थियो, जसले युद्धको भयावह मानवीय सङ्कटलाई उजागर गरेको थियो।
एकातिर बन्धकका परिवार र पूर्वसैन्य अधिकारीहरू युद्ध अन्त्य गरेर सम्झौता गर्न माग गरिरहेका छन् भने, अर्कोतिर प्रधानमन्त्री नेतान्याहुले ‘हमासलाई परास्त नगरेसम्म’ युद्ध नरोक्ने अडान लिनुभएको छ। उहाँले युद्धविरामको आह्वानले बन्धक मुक्तिको प्रक्रियालाई ढिलाइ गर्ने तर्क गर्नुभएको छ। सरकारका अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रदर्शनलाई ‘हमासको हातमा खेल्ने अभियान’ भन्दै आलोचना गर्नुभएको छ।
हाल गाजामा रहेका करिब ५० बन्धकमध्ये २० जना मात्र जीवित रहेको अनुमान छ, जसले परिवारहरूलाई थप आन्दोलित बनाएको छ।
इजरायलमा प्रदर्शन चर्किरहँदा गाजामा भने मानवीय सङ्कट झनै गहिरिएको छ। इजरायली सेनाको गोलीबाट संयुक्त राष्ट्रसङ्घको सहायता सामग्री कुरिरहेका कम्तीमा १७ जना प्यालेस्टिनीको मृत्यु भएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ६१,९०० भन्दा बढीको मृत्यु भइसकेको छ, जसमध्ये आधा महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घले गाजामा भोकमरी चरम अवस्थामा पुगेको र २५० भन्दा बढी मानिसको कुपोषणका कारण मृत्यु भइसकेको चेतावनी दिएको छ।
