अस्ट्रेलियामा नेपालको पहिलो जित
काठमाडौँ, ३ भदौ । अलराउन्डर नन्दन यादवले पाँच विकेट लिएपछि नेपालले मङगलबार टप एन्ड टि–ट्वान्टी सिरिजमा होबर्ट हरिकेन्सलाई ६६ रनले हराएको छ ।
सुरुका तीन खेल हारेपछि नेपालले पहिलो जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १८० रन बनाएको थियो । होबार्टले १६.१ मा ११४ रन मात्र बनाउनसक्यो ।
होबर्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए । यसैगरी चार्ली वाकिमले २८ र जेन कर्टेनले अविजित २० रनको पालि खेले । नन्दनले तीन ओभरमा १७ रन दिएर पाँच विकेट लिए । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले एक÷एक विकेट हासिल गरे ।
यसअघि, नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका थिए । उनले २६ बलको सामना गरी तीन चौका प्रहार गरे । यसैगरी प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले २८ बलमा २९ र कुशल भुर्तेलले २० बलमा २७ रनको योगदान दिए । भुर्तेलले चार र आसिफले दुई चौका प्रहार गरे । नेपालको पालि अन्तिम समयमा क्रिजमा आएका लोकेश बमको तेज ब्याटिङले राम्रो भएको हो । लोकेशले ११ बलमा तीन चौका र एक छक्कासहित २५ रनको तेज पालि खेलेका थिए ।
होबर्टका लागि निभेथन राधाकृष्णन र राफ माकमिलनले दुई÷दुई तथा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले एक÷एक विकेट लिए । नेपालले आइतबार मेलवर्नसँग खेल्नेछ ।