हिजबुल्लाह निःशस्त्र भए इजरायलसँग युद्धविराम गराउने अमेरिकी प्रस्ताव
बेरुत, ३ भदौ । लेबनान सरकारले अमेरिकी समर्थित योजनाअनुसार हिजबुल्लाहलाई निःशस्त्र बनाउन सहमति जनाएपछि, अमेरिकी विशेष दूत टम बराकले अब इजरायलसँग दीर्घकालीन युद्धविरामका लागि छलफल अघि बढाइने बताउनुभएको छ ।
सोमबार लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको भेटपछि दूत बराकले वासिङ्टनले युद्धपछिको पुनर्निर्माणका लागि आर्थिक सहायता प्याकेज तयार पार्न पनि सहयोग गर्ने आश्वासन दिनुभयो । लेबनानी सरकारले पहिलो र महत्त्वपूर्ण कदम चालेको भन्दै उहाँले अब इजरायलले पनि सोहीअनुसारको प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
यद्यपि, यो निर्णयले इरान समर्थित हिजबुल्लाहलाई चिन्तित बनाएको छ । हिजबुल्लाहका उपमहासचिव नाइम कासेमले निःशस्त्रीकरणको कुनै पनि प्रयासविरुद्ध लड्ने चेतावनी दिएका छन्, जसले देशमा गृहयुद्धको खतरा बढाएको छ । दूत बराकले भने हिजबुल्लाहले यो अवसर गुमाउन नहुने बताउनुभएको छ ।
लेबनानी राष्ट्रपति आउनले देशको सेनाको क्षमता बढाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । विश्व बैंकको अनुमानअनुसार सन् २०२४ को अन्त्यसम्ममा इजरायलसँगको युद्धले लेबनानलाई करिब ११ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति पुर्याइसकेको छ ।