युक्रेनको रक्षा गर्न अमेरिकी सेना पठाउँदिनँ: राष्ट्रपति ट्रम्प
एजेन्सी, ४ ल भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसबाट बचाउन अमेरिकी सेना नपठाउने स्पष्ट पारेका छन्।
एक टेलिभिजन अन्तर्वार्तामा उनले युक्रेनको नेटो सदस्यता र रुसले कब्जा गरेको क्रिमिया फिर्ता पाउने आशालाई ‘असम्भव’ को संज्ञा दिएका छन्।
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म राष्ट्रपति हुँदा युक्रेनको सिमाना रक्षा गर्न अमेरिकी सेना जाने छैन, यो मेरो आश्वासन हो।” यसअघि उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्तापछि अमेरिकी सेना पठाउने सम्भावनालाई खुला राखेका थिए, जसले गर्दा उनको पछिल्लो भनाइलाई महत्त्वपूर्ण मानिएको छ।
रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गराउने प्रयास गरिरहेको बताएका छन्। उनले आवश्यक परेमा आफूसहितको त्रिपक्षीय बैठक गर्न सकिने तर पहिलो चरणमा दुई नेताबीच भेटवार्ता हुनुपर्नेमा जोड दिए।
ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेनले क्रिमियामाथिको दाबी र नेटोमा सामेल हुने आकांक्षा त्याग्नुपर्ने संकेत गरेका छन्। उता, रुसले पनि डोनेट्स्क र लुहान्स्कबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने र क्रिमियालाई रुसी भूभागको रूपमा मान्यता दिनुपर्ने अडान राख्दै आएको छ।
क्रेमलिनले पुटिन र जेलेन्स्कीबीचको भेटबारे आधिकारिक रूपमा केही नबताए पनि ट्रम्पले भने पुटिन भेट्न तयार रहेको दाबी गरेका छन्। “मलाई लाग्छ पुटिन यो युद्धबाट थाकिसकेका छन्,” ट्रम्पले भने, “अबको दुई हप्तामा के हुन्छ भन्ने कुरा स्पष्ट हुनेछ।”