लिपुलेक नेपालको अभिन्न भूभाग: चीन र भारतलाई ध्यानाकर्षण गराइयो
काठमाडौं । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेको छ । यस विषयमा चीन र भारत दुवै छिमेकी मुलुकको ध्यानाकर्षण गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल र मिडियामार्फत सोधिएका प्रश्नहरूको जवाफ दिँदै नेपालको संविधानमा आधिकारिक नक्सा समावेश भइसकेको स्मरण गराएको छ । सो नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभागका रूपमा स्पष्ट देखाइएको मन्त्रालयको भनाइ छ ।
सरकारले भारतसँग कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । नेपाल-भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको मन्त्रालयले बताएको छ ।
