शिक्षा विधेयक बहुमतले पारित

काठमाडौँ, ५ भदौ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बहुप्रतीक्षित विद्यालय शिक्षा विधेयक बहुमतले पारित गरेको छ । तर, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) सहित तीन दलले विधेयकका प्रावधानमा असहमति जनाउँदै फरक मत दर्ता गराएका छन् ।

समितिको बिहीबार बसेको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । विधेयकमाथि माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादवले फरक मत राख्नुभएको हो । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले पनि असहमतिपत्र पेश गर्नुभएको छ ।

लामो समयदेखि विवादित बनेको आवासीय विद्यालयको छात्रवृत्तिसम्बन्धी व्यवस्थामा भने समितिले सहमति जुटाएको छ । सरकारले प्रस्ताव गरेको साढे २ प्रतिशतको सीमालाई बढाएर ३ प्रतिशत पुर्‍याउने निर्णय भएको छ ।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, करिब नौ महिनाको छलफलपछि पारित भएको यो विधेयक अब प्रतिनिधिसभाको पूर्ण बैठकमा पेस गरिनेछ ।