शेयर बजारमा गिरावट जारी, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ, ५ भदौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । बुधबारदेखि सुरु भएको घट्ने क्रमले आज पनि निरन्तरता पाउँदा कारोबार रकमसमेत खुम्चिन पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, आज परिसूचक ९.२२ अङ्कले घटेर २७५७.९७ विन्दुमा झरेको छ । दिनभरिमा ३१९ कम्पनीका १ करोड ६८ लाख कित्ताभन्दा बढी शेयर ५ अर्ब २ करोड रुपैयाँमा खरिदबिक्री भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये निर्जीवन बीमाबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहमा ०.१४ प्रतिशतको सामान्य सुधार देखिँदा अन्य उपसमूहहरू भने राताम्मे बने ।

कारोबार रकमका आधारमा आज हिमालयन रि-इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । कम्पनीको २४ करोडभन्दा बढीको शेयर किनबेच भयो । यता, विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै करिब ४.६५ प्रतिशत गुमाए ।