नेपाल-पेरु सम्बन्धमा नयाँ आयाम: राजदूत काफ्लेद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, भदौ ६ । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले पेरुका लागि नेपालको गैरआवासीय राजदूतको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्नुभएको छ । लिमास्थित राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा उहाँले पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेर पदभार सम्हाल्नु भएको हो ।

सो अवसरमा राजदूत काफ्लेले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रपति जेगाराको व्यक्तिगत सुख, सुस्वास्थ्य र पेरुका जनताको निरन्तर शान्ति र समृद्धिको लागि शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो ।

शुभकामना ग्रहण गर्दै राष्ट्रपति जेगाराले राजदूत काफ्लेको कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो । उहाँले आफ्नो सरकारबाट काफ्लेको कार्यकालमा पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघि राजदूत काफ्लेले पेरुको परराष्ट्र मन्त्रालयका विभिन्न पदाधिकारीहरूसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र सहयोगका विविध पक्षमा विचार-विमर्श गर्नुभएको थियो ।

छलफलका क्रममा दुई देशबीच दक्षिण–दक्षिण सहयोग, व्यापारिक भ्रमणको आदानप्रदान, आर्थिक साझेदारी, र सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा जोड दिइएको थियो । साथै, जलवायु परिवर्तनले पारेको प्रतिकूल प्रभावबाट दुवै मुलुकको जैविक विविधताको संरक्षण गर्ने तथा दिगो पर्वतीय विकास जस्ता साझा हितका विषयमा बहुपक्षीय मञ्चहरूमा सहकार्य गरेर अघि बढ्ने विषयमा पनि महत्वपूर्ण कुराकानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *