इजरायली आक्रमणले गाजामा मानवीय संकट तीव्र, सयौं नागरिक विस्थापित

गाजा, ६ भदाै । संयुक्त राष्ट्रसंघले गाजा सहर र आसपासका क्षेत्रमा इजरायलले गरिरहेको निरन्तर बमबारीले मानवीय संकट अत्यन्तै भयावह बनाएको जनाएको छ। आक्रमणका कारण सयौं नागरिक विस्थापित भएका छन् भने ठूलो संख्यामा हताहती भएको छ।

राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओचा) का अनुसार इजरायली आक्रमण पूर्वी तथा दक्षिणी गाजा, विशेषगरी अज-जयतुन क्षेत्रमा केन्द्रित छ। पछिल्लो तथ्यांकअनुसार, अगस्ट ८ यता ५० भन्दा बढी आवासीय घरमा भएको आक्रमणमा कम्तीमा ८७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ।

बिहीबार गाजाको दक्षिणी क्षेत्र देइर अल-बलाहमा विस्थापितहरू बसिरहेको एउटा शिविरमा इजरायलले हवाई आक्रमण गरेको थियो। ओचाको कार्यालय नजिकै रहेको उक्त शिविरमा करिब २०० परिवार बस्दै आएका थिए। इजरायली सेनाले छोटो समयअघि चेतावनी दिएकाले मानवीय क्षति हुन पाएन, तर शिविरका टहरा र सरसामान पूर्ण रूपमा नष्ट भएका छन्।

ओचाले मानवीय सहायता केन्द्र र नागरिक पूर्वाधारलाई कुनै पनि हालतमा निशाना बनाउन नहुनेमा जोड दिएको छ।

पछिल्लो एक हप्तामा (अगस्ट १२ देखि २०) मात्रै १६,८०० भन्दा बढी सर्वसाधारण पुनः विस्थापित भएका छन्। योसँगै मार्चको मध्यमा युद्धविराम टुटेयता विस्थापित हुनेको कुल संख्या ७ लाख ९६ हजार नाघेको छ, जसमध्ये ९५ प्रतिशत गाजा सहरका बासिन्दा हुन्।

बालबालिकामा कुपोषणको संकट
यसैबीच, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले गाजामा बालबालिकामा भोकमरी र कुपोषणको अवस्था भयावह बन्दै गएको चेतावनी दिएको छ। युनिसेफका अनुसार, जुलाई महिनामा मात्रै कुपोषणसम्बन्धी कारणले पाँच वर्षमुनिका २४ बालबालिकाको मृत्यु भएको छ, जुन यस वर्षको कुल मृत्युको ८५ प्रतिशत हो।

हाल गाजामा पाँच वर्षमुनिका करिब ३ लाख २० हजार बालबालिका तीव्र कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ। युद्ध र विस्थापनको प्रत्यक्ष असर बालबालिकाको जीवनमा परेको छ। उनीहरू सडकमा सामान बेच्न र भग्नावशेषबाट कबाड संकलन गर्न बाध्य भएका छन् भने निरन्तरको विस्थापनले उनीहरूमा गहिरो मानसिक आघात परेको छ।