बेवारिसे कुकुरहरू सडकमै छाड्न भारतीय सर्वोच्च अदालतको आदेश

नयाँदिल्ली, ६ भदाै । भारतको सर्वोच्च अदालतले आफ्नो एउटा पुरानो निर्णयलाई परिमार्जन गर्दै नयाँदिल्लीका सडकबाट हटाइएका बेवारिसे कुकुरहरूलाई पुरानै स्थानमा फिर्ता छाड्न आदेश दिएको छ।

अदालतले नसबन्दी र खोप लगाइसकेका कुकुरहरूलाई मात्र यसरी छाड्न भनेको हो। पशु अधिकारकर्मीहरूले कुकुरलाई स्थायी आश्रयस्थलमा राख्नुपर्ने भनी अगस्ट ११ मा दिइएको आदेशविरुद्ध अपिल गरेका थिए। शुक्रबारको नयाँ आदेशले उनीहरूको मागलाई सम्बोधन गरेको छ। साथै, अदालतले राजधानीका विभिन्न स्थानमा कुकुरहरूका लागि तोकिएको खुवाउने ठाउँ बनाउन पनि निर्देशन दिएको छ।

नयाँदिल्लीमा कुकुरको टोकाइ एक गम्भीर समस्या बनेको छ। अस्पतालको तथ्याङ्कअनुसार, राजधानीमा दैनिक करिब दुई हजार मानिस कुकुरको टोकाइबाट पीडित हुने गरेका छन्। विशेषगरी बालबालिकाहरूमाथि हुने यस्ता घटनाले चिन्ता बढाएको छ। कुकुरको टोकाइबाट सर्ने रेबिज भाइरसले स्नायु प्रणालीमा असर गर्छ र समयमै उपचार नभए ज्यानसमेत जान सक्छ।
तर, अदालतको यो आदेश सबै कुकुरमा लागू हुनेछैन। रेबिज लागेका वा आक्रामक र मानिसलाई आक्रमण गर्ने स्वभावका कुकुरहरूलाई भने सडकमा छाडिने छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *