गाजामा अनिकालको औपचारिक घोषणा

काठमाडौँ, ६ भदौँ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा औपचारिक रूपमा अनिकालको घोषणा गरेको छ। यो घोषणा मध्यपूर्वमा पहिलो पटक गरिएको हो । विज्ञहरूले युद्धग्रस्त क्षेत्रका करिब पाँच लाख मानिस “विनाशकारी” भोकमरीको चपेटामा परेको चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसङ्घका शीर्ष अधिकारीहरूले इजरायलले गाजामा मानवीय सहायता वितरणमा “योजनाबद्ध अवरोध” गरिरहेको आरोप लगाएका छन् । यो घोषणा ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसिएटिभ’ (आईपीसी) ले गरेको विस्तृत विश्लेषणमा आधारित छ, जुन विश्वव्यापी रूपमा खाद्य सुरक्षा सङ्कटहरूको अनुगमन गर्ने प्रमुख निकाय हो ।

आईपीसीको प्रतिवेदनअनुसार, गाजाका २० प्रतिशतभन्दा बढी घरपरिवारले खाद्यान्नको चरम अभाव झेलिरहेका छन्, पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका गम्भीर कुपोषित छन् र भोकमरी वा कुपोषण र रोगका कारण हरेक दिन प्रति १०,००० मानिसमा दुईभन्दा बढीको मृत्यु भइरहेको छ ।

इजरायलको खण्डन
यसैबीच, इजरायलको विदेश मन्त्रालयले गाजामा अनिकालको घोषणालाई “निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झूटमा आधारित” भन्दै खारेज गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गाजामा कुनै अनिकाल छैन ।”  इजरायलले युद्ध सुरु भएदेखि १ लाखभन्दा बढी सहायता ट्रक गाजामा प्रवेश गरेको र हालैका हप्ताहरूमा ठूलो मात्रामा खाद्यान्न आपूर्तिले बजारमा मूल्य घटेको दाबी गरेको छ ।

मानवीय सङ्कटको भयावह अवस्था
२२ महिनाभन्दा लामो द्वन्द्वपछि गाजा पट्टीका पाँच लाखभन्दा बढी मानिस भोकमरी, गरिबी र मृत्युको भयावह अवस्थाको सामना गरिरहेका छन् । आइपिसीको प्रतिवेदनमा भनिएको छ । यो अनिकाल सेप्टेम्बरको अन्त्यसम्ममा देइर अल–बालाह र खान युनिस प्रान्तहरूमा फैलिने अनुमान गरिएको छ, जसले गाजाको कुल जनसङ्ख्याको करिब ६ लाख ४१ हजार मानिसलाई प्रभावित पार्नेछ । आईपीसीले यो सङ्कटलाई “पूर्ण रूपमा मानव सिर्जित” भनेको छ, जसको मुख्य कारण द्वन्द्वमा भएको वृद्धि, ठूलो सङ्ख्यामा विस्थापन र मानवीय तथा व्यावसायिक खाद्यान्न आपूर्तिमा लगाइएको गम्भीर प्रतिबन्ध हो ।

अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गर्नु युद्ध अपराध हुन सक्ने बताउनुभएको छ। आपतकालीन राहत संयोजक टम फ्लेचरले इजरायलको अवरोधका कारण सीमामा खाद्यान्न थुप्रिएको बताउँदै यो अनिकालले “सबैलाई पिरोल्नुपर्ने” बताउनुभयो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले तत्काल युद्धविराम, हमासद्वारा बन्धक बनाइएका सबैको रिहाइ र गाजामा पूर्ण मानवीय पहुँचका लागि पुनः आह्वान गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “हामी यो अवस्थालाई दण्डहीनताका साथ जारी रहन दिन सक्दैनौँ।”

बालबालिका सबैभन्दा बढी प्रभावित
यो सङ्कटको सबैभन्दा ठूलो मार बालबालिकाले खेपिरहेका छन् । युनिसेफका अनुसार जुलाईमा मात्रै १२,००० भन्दा बढी बालबालिका कुपोषित भएको पाइएको छ  । जुन यो वर्षको सुरुदेखिको तुलनामा छ गुणाले बढी हो । युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले, गाजामा बच्चाहरूको शरीर कमजोर हुँदै गएको, उनीहरू खानका लागि पनि धेरै कमजोर अवस्थामा रहेको,  भोक तथा रोकथाम गर्न सकिने रोगबाट मरिरहेका बताउनुभयो ।

कृषि र स्वास्थ्य प्रणाली ध्वस्त
गाजा पट्टीको करिब ९८ प्रतिशत खेतीयोग्य जमिन क्षतिग्रस्त वा पहुँच बाहिर छ ।  पशुधन नष्ट भएको छ र माछा मार्न प्रतिबन्ध लगाइएको छ ।  यसका साथै, स्वास्थ्य प्रणालीको गम्भीर गिरावट र सुरक्षित पिउने पानी तथा सरसफाइको अभावले सङ्कटलाई अझ जटिल बनाएको छ । आइपिसीले उत्तरी गाजाको अवस्था अझ खराब हुन सक्ने चेतावनी दिएको छ, यद्यपि त्यहाँको तथ्याङ्क सङ्कलन गर्न कठिनाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *